८ बैशाख २०८१, शनिबार

पानी माग्दै कपिलवस्तु र नवलपरासीमा गोरु बिहे


गोरु बिहे

कपिलवस्तु । बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बडघर (समुदायको अगुवा) खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् ।

त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताए । बडघरलाई रातभरि थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वासअनुसार महिला बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्केका हुन् ।

वर्षा नभएपछि थारू समुदाय यसरी पानी माग्दै हिँड्छन् । बडघर फेलापरेपछि बाँधेर आफ्नो गाउँमा ल्याउने थारू अगुवा शिवाली थारूले बताए । बडघरसँगै हरेक घरमा रहेका हलो, कोदालोसमेत खोसेर ल्याउने गर्छन् ।

थारू प्रचलनअनुसार बाँधेर गाउँमा ल्याइएको बडघरलाई कोठामा ताल्चा लगाएर रातभर थुनेर राख्ने गरिन्छ । थुनामा रहेका बडघरले थारू खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ । बडघरलाई थुुनामुक्त गरेपछि वर्षा हुने र खेती बाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी चमेली थारूले बताए ।

बडघर थुनेको रात महिला सजनीभाका (पानी पार्न गाइने) गीत गाउँदै हलो जोत्ने गर्छन् । लामो समयसम्म पानी परेन भने थारू समुदायले ‘गोरु बिहे’ प्रदर्शन गर्ने गरेको पत्रकार सीताराम चौधरीले बताए । यो समाचार गोरखापत्र दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा जानु पाण्डे र गोपी ज्ञवालीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !