१३ बैशाख २०८१, बिहिबार

कांग्रेसको दाबी : प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा लिने


नेपाली काँग्रेस केन्द्रिय कमिटी बैठक

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समिति बैठक सत्ता गठबन्धनमा रहेका दलसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढिने’ कांग्रेस निर्णयमा उल्लेख छ ।

एक केन्द्रीय सदस्यले ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन आबद्ध दलबीच तालमेल प्रयास गर्नेगरी’ निर्णय गरिएको छ ।

कांग्रेसले निर्णयमा तालमेल गर्दा संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा ‘न्यूनतम साझा धारणा’ निर्माण गर्नुपर्ने उल्लेख गरेको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावना दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलसँग संवादमार्फत निष्कर्षमा पुग्ने,’ कांग्रेस निर्णयमा उल्लेख छ ।

गत २७ असारबाट सुरु बैठकले उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन अनुमोदनसमेत गरेको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !