१२ बैशाख २०८१, बुधबार

एमालेको सिको गर्दै माओवादीले पनि पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै


माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ ।

पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गरी कारबाही सिफारिस गर्न छानबिन समितिसमेत गठन गरेको छ ।

माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुशासन आयोग अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

स्थायी समिति सदस्य गणेश शाह अन्तर्घातीलाई कारबाही नगरिए ‘आगामी निर्वाचनमा समेत नराम्रो प्रभाव पर्ने निश्चित रहेको’ दाबी गर्छन् । स्थानीय कमिटीको माग तथा अनुरोधका आधारमा छानबिन समिति गठन गरिएको बताउ“दै उनले ‘आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन समितिले गम्भीर अनुसन्धान गर्ने’ उल्लेख गरे । ‘पार्टीभित्रै केही नेताको अराजक गतिविधि बढेकाले छानबिन आवश्यक परेको हो,’ शाह बताउँछन् ।

यसअघि, गत १९ असारमा बसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानबिनका लागि तीन सदस्यीय कमिटी गठन गरी अनुसन्धान सुरु गरिसकेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले स्थानीय कमिटीबाट निवेदन लिएर अनुसन्धान गरिरहेको छ । एमाले सचिवालय बैठकले तीन सदस्यीय ‘छानबिन तथा कारबाही कमिटी’ गठन गर्ने निर्णय गरेको थियो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !