८ बैशाख २०८१, शनिबार

आयोगद्वारा प्रदेश/प्रतिनिधि सभा निर्वाचनको मिति प्रस्तावको तयारी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति राय दिने तयारी गरेको हो ।

‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त हुने सुझाव दिनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्ने भएको हो । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मिति समेत छलफल गर्दै आएको छ ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।

७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रसासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।

आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !