१३ बैशाख २०८१, बिहिबार

फेरि अर्का सुब्बा सावले साढे २ करोड भ्रष्टाचार गरेकोले परे अख्तियारको फन्दामा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । नायव सुब्बा तहका कर्मचारीले करोडौं रकम कमाएको आरोपमा धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन् । यसैक्रममा अख्तियारले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झाले २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसाको स्रोत खुलाउन नसकी अकूत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारले झाको वैधानिक आम्दानी र खर्च तथा लगानी छानबिन गरेपछि अकूत सम्पति आर्जन गरेको तथ्य फेला पारेको हो ।

उनी २०३९ मंसिर ९ गते गाविस सचिवका रूपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यालयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०३९-४० देखि २०७७-७८ सम्मको उनको समग्र आय र व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरिएको थियो ।

यसअघि अख्तियारले केही दिनअघि मात्रै झापाका नायव सुब्बा स्तरका पूर्वकर्मचारी भीमकान्त भण्डारीविरुद्ध पनि ६ करोड अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

अख्तियारको अनुसन्धानका क्रममा नायब सुब्बा झाले २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको थियो ।

उनको २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले सो रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ ।

अवकाश प्राप्त नायव सुब्बा झाले आफूले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी मिनादेवी झा, छोरा दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झाको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ ।

२ करोड वैध सम्पति देखाउँदा खर्च ४ करोड बढी
खर्च कहाँ कति ?
जग्गा खरिदः ३७ लाख ८८ हजार
बैंकलाई सावा भुक्तानीः ८० लाख ६५ हजार
सवारी साधन खरिदः १ करोड ७९ लाख
बिमा प्रिमियमः १ लाख ५२ हजार
घर निर्माणः १ करोड १३ लाख
अध्ययन खर्च भुक्तानीः ९ लाख ३ हजार
कम्पनी सञ्चालन खर्चः ३७ लाख ५० हजार
उपकरण खरिदः ७ लाख ६ हजार

यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कसरी कमाए नायब सुब्बा तहका सरकारी कर्मचारीले ४ वर्षमै ६ करोड ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !