१३ बैशाख २०८१, बिहिबार

आरजु देउवा भन्छिन्- प्रधानमन्त्रीलाई घोडा दौडाए झैं दौडाइन्छ


डा. आरजु राणा देउवा

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रधानमन्त्री भएर काम गर्न निकै गाह्रो रहेको गुनासो सुनाएकी छन्। प्रधानमन्त्रीलाई बिहान उठेदेखि सुत्ने बेलासम्म घोडालाई झैं दौडाएको दौडाइ गरेको उनले बताइन्।

तरुण दल कास्कीले सोमबार पोखरामा विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुले भनिन्, ‘प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न निकै गाह्रो छ। प्रधानमन्त्रीले मिटिङ, सेमिनार, कन्फेरेन्स, भेटघाटमा दौडेको दौड्यै गर्नुपर्ने उनले बताइन्। ‘मिटिङ, सेमिनार, कन्फेरेन्स, भेटघाट, राजदूत, मन्त्री, कुन्नि के के’, उनले भनिन्, ‘कर्मचारीको दुनियाँ अर्कै छ, राजनीतिक दलको दुनियाँ अर्कै छ।’

स्थानीय तहमा बसेर काम गर्न झनै गाह्रो र चुनौती रहेको उनले बताइन्। ‘जनता ढोकाबाहिर, साथीहरू पनि ढोका बाहिर, सबैजना त्यहीं छन् अनि कसरी काम गर्ने’, उनले भनिन्। कर्मचारीलाई पनि सम्झाइबुझाई अघि बढ्न उनले स्थानीय तहका पदाधिकारीलाई अनुरोध गरिन्। ‘पद पाउन सजिलो छ, तर काम गर्न गाह्रो छ’, आरजुले भनिन्, ‘हाम्रो र कर्मचारीतन्त्रको दुनियाँ मिलाउन निकै गाह्रो छ। हामी जनताको काम गर्न आएका हौं, तर, कर्मचारीले कानुनभित्र रहेर काम गर्नुपर्छ। हामी सयको स्पिडमा सोच्छौं, तर, काम हुन्छ दशको स्पिडमा।’

स्थानीय सरकार कसरी चलेको छ भनेर देखाउन चुनौती रहेको उनले बताइन्। दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने उनले बताइन्। स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको पनि उनले बताइन्। अहिले स्थानीय तह जितेका स्वतन्त्र उम्मेदवार पनि एउटा–एउटा गुण पहिचान गरेर नेता बनेको उनले आरोप लगाइन्। ‘बालेन शाहको सामाजिक सञ्जाल हेरौं, रुटिन अफ नेपाल बन्दलाई कतिमा हायर गर्नुभयो’, उनले भनिन्, ‘रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सीका रूपमा परिचालन भएको छ।’

पछिल्लो समय स्वतन्त्र उम्मेदवार बढेको उनले बताइन्। ‘अहिले त एक्टिङ छाडेर एक्टर र पत्रकारिता छाडेर पत्रकार पनि राजनीतिमा आएका छन्। हुन त राम्रो पनि हो, रमाइलो हुन्छ। भिन्नाभिन्नै विचार बोकेर आउँछन्’, उनले भनिन्। लामो समय देश बचाएर राख्ने हो भने राजनीतिक सिस्टम कायम राख्नुपर्ने उनको भनाइ छ । यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !