१२ बैशाख २०८१, बुधबार

मोदीले गर्न लागेको नेपाल भ्रमणभित्र लुकेको ‘धार्मिक कूटनीति’


नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका छन् । हिन्दू ‘सेन्टिमेन्ट’पछि मोदीले बौद्ध धर्मालम्बीमार्फत धार्मिक कूटनीति बढाउन खोजेका हुन् । मोदीको नेपाल पाँचौं भ्रमण हो । नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र बनाएको छ ।

मोदीले लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा केन्द्रित हुनेछन् । बिहारको राजधानी पटनाबाट भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउन लागेका मोदीले मायादेवी मन्दिरमा १ घण्टा बिताउनेछन् । साथै अशोक स्तम्भमा दीप प्रज्वलन र पुष्करणी पोखरीको दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच लुम्बिनीमै औपचारिक वार्ता हुनेछ । देउवाको पछिल्लो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध’bout छलफल केन्द्रित हुनेछ । मोदीको यो भ्रमणलाई पारस्परिक (रेसिप्रोसिटी) भ्रमण ठानिएको छ । दोस्रोपटक प्रधानमन्त्री बनेयता मोदीको यसपटकको आगमन द्विपक्षीय समझदारी– सम्झौताभन्दा मनोमालिन्य हटाउने हिसाबले महत्वपूर्ण हुने आँकलन छ ।

यसअघि मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरको रामजनकी मन्दिरको दर्शन गरेका थिए । नेपाल र भारतको धार्मिक आस्था र वा सांस्कृतिक सम्बन्ध पनि जोडिएको हँुदा मोदीले पछिल्लो समय नेपालसँग बिग्रिएको सम्बन्ध सुधारका लागि धार्मिक कूटनीति प्रयोग गर्न खोजेका हुन् ।

बौद्ध धर्मसँग जोडिएको धार्मिक र सांस्कृतिक सम्बन्ध जापान, दक्षिण कोरिया, दक्षिण एसियाली मुलुक र छिमेकी चीनसँग छ । भारतसँग परापूर्वकालदेखि नै धार्मिक र सांस्कृति सम्बन्ध छ । उनी २०७१ मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए ।

यसबीचमा उनी चारपटक नेपाल आइसकेका छन् । दुईवटा भ्रमण धार्मिक तीर्थाटनसँग जोडिएको छ । मोदीले पहिलोपटक ३ र ४ साउन २०७१ मा नेपालको राजकीय भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए । त्यस्तै, मोदी दोस्रोपटक १० र ११ मंसिर २०७१ मा काठमाडौंमा भएको १८औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा भाग लिन आएका थिए ।

त्यसबेला मोदीले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग हात मिलाउँदा चर्चा चलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी २०७५ वैशाख २८ मा दुईदिने औपचारिक भ्रमणमा आएका थिए । जतिबेला उनको पहिलो तीर्थाटन पशुपतिनाथ मन्दिर बनेको थियो । सोही समयमा उनले जनकपुरमा रहेको जानकी मन्दिरको पनि दर्शन गरे ।

मोदीले त्यतिबेला दुई देशबीचको धार्मिक र सांस्कृतिक सद्भावले भातृत्वको भावना युगांैसम्म जागृत हुने बताएका थिए । मोदी १४ र १५ भदौ २०७५ मा भएको चौथो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आएका थिए । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !