६ बैशाख २०८१, बिहिबार

स्थानीय निर्वाचनका लागि २ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र म्यादी प्रहरी गरी २ लाख ६८ हजार सुरक्षाकर्मी खटाएको छ ।

नेपाल प्रहरीले मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षासहित सबै सुरक्षा जिम्मेवारी हेर्नेछ । म्यादी प्रहरी पनि भित्री घेरामा हुनेछन् । सशस्त्र प्रहरी बल दोस्रो र नेपाली सेना तेस्रो अर्थात् बाहिरी घेरामा रहनेछन् ।

निर्वाचनका लागि नेपाल प्रहरीबाट ६२ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै, सशस्त्र प्रहरीबाट ३२ हजार, नेपाली सेनाबाट ७१ हजार र अनुसन्धान विभागबाट ३ हजार तथा म्यादी प्रहरी १ लाखको संख्यामा निर्वाचन सुरक्षामा खटाइएको छ ।

नेपाली सेनाले निर्वाचनका लागि लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ । स्थानीय पोस्ट तथा ब्यारेक नभएका स्थानमा तत्कालै जनशक्ति परिचालन गर्न सकिनेगरी सेनाले अस्थायी बेस स्थापना गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सैनिक प्रवक्ता सिलवालका अनुसार कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी सैनिक परिचालन हुनेछन् भने प्लाटुनबाट परिचालन हुने बेसमा ४० जना बढी सैनिक खटिनेछन् ।

‘सेनाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ, कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी र प्लाटुनबाट परिचालन हुने बेसमा ४० जनाभन्दा बढी सैनिक खटाइएको छ,’ सैनिक प्रवक्ता सिलवालले राजधानीसँग भने ।

सरकारले हरेक मतदानस्थलमा ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यहीअनुसारको तयारी गरेको हो । सेनाले अस्थायी बेसबाटसमेत मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि चार स्थानमा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राखेको छ । जसअनुसार काठमाडौं, इटहरी, सुर्खेत र पोखरामा सेनाका हेलिकोप्टर स्टेन्डबाइ रहनेछन् ।

सेनाले आफ्नो जिम्मेवारीअन्तर्गत पिकेटिङ, पट्रोलिङ तथा सुचना संकलन र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि गत ३० जेठमा आदेश जारी गरेकी थिइन् । सरकारले मतपत्र छपाइको सुरक्षादेखि ढुवानीसम्मको सुरक्षा जिम्मा पनि सेनालाई दिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले स्थानीय तह निर्वाचनका लागि तोकिएका जनशक्ति फिल्डमा पुगिसकेको जानकारी दिए ।

‘नेपाल प्रहरीका जनशक्तिले फिल्डमा पुगेर काम सुरु गरिसकेका छन्, देशभरका स्थानीय तहका मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ,’ प्रहरी प्रवक्ता केसीले भने ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले सशस्त्र प्रहरीतर्फबाट पनि निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति फिल्डमा परिचालन भइसकेको जानकारी दिए । उनले देशभरका १ सय ११ स्थानमा सशस्त्र प्रहरीले रिजर्भ फोर्स राखेको बताए ।

‘स्थानीय तह निर्वाचनका लागि सशस्त्र प्रहरीतर्फबाट आवश्यक जनशक्ति परिचालन भइसकेको छ, देशभर १ सय ११ स्थानमा रिजर्भ फोर्स पनि राखिएको छ, सशस्त्रले मतदान स्थल र मतदान केन्द्रमा दोस्रो तहको घेरामा रहेर जिम्मेवारी निर्वाह गर्नेछ,’ सशस्त्र प्रवक्ता पाण्डेले भने ।

सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा पनि गर्दै आइरहेको छ । सशस्त्र प्रहरीले मतदान सम्पन्न भइसकेपछि मतपेटिकालाई मतगणना स्थलसम्म लैजान पनि सुरक्षा दिनेछ भने मतगणना स्थलको सुरक्षामा पनि सशस्त्र प्रहरी खट्नेछन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !