८ बैशाख २०८१, शनिबार

काँग्रेस सभापति देउवाले रेणुको गुनगान गाए, प्रचण्डले झस्काए


शेरबहादुर देउवा र प्रचण्ड फाइल फोटो

नारायणगढ । स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा सत्तारूढ गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभाका वक्ता थिए, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा कार्यकारिणी सदस्य एवं मन्त्री राजेन्द्र श्रेष्ठलगायत ।

मुलुकको ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई विराटनगर भागबन्डा गरेकोमा भरतपुर भने धेरैको चासो बनेको छ ।

६ महानगरमा मुख्य प्रतिस्पर्धा सत्तारूढ गठबन्धन र एमालेबीच नै हुने भए पनि भरतपुरलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । भरतपुरलाई लिएर बढी चासो बढ्नुमा त्यहाँ माओवादी अध्यक्ष दाहालकी छोरी उम्मेद्वार बनेकी छन् । उनको हारजितलाई गठबन्धनकै भविष्यलाई समेत जोडेर हेरिएकाले भरतपुर स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको हो ।

त्यसैले त त्यहाँको चुनावी सभालाई सम्बोधन गर्न देउवा, दाहाल र नेपालसमेत पुगेका हुन् ।

भरतपुरमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूले मुलुकभरकै ‘गठबन्धन’को भविष्य र उथलपुथल’ चर्चा गर्ने क्रममा भरतपुरलाई भने बढी नै जोड दिएको देखियो । यतिसम्म कि शीर्ष नेताहरूले ‘भरतपुर हार्दा गठबन्धन हार्ने र जित्दा सिंगो गठबन्धन जित्ने’ भाषासमेत बोले ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले गठबन्धनको निरन्तरता र रेणु दाहालको प्रशंसामा समय खर्चिंदा माओवादी अध्यक्ष दाहाल भने एमालेलाई जोडेर कांग्रेसलाई तर्साउनसमेत पछि परेनन् । उनले एमालेले आफूसँग एकता र तालमेलका कुरा गरेको खुलासा गरेर देउवालाई झस्काउनसमेत भ्याए । ‘एमालेका साथीहरू अहिले पनि मिलौं भन्दै आएका छन्,’ गठबन्धनका अन्य नेताहरूलाई झस्काउँदै दाहालले भने, ‘तर मैले हुन्न भनेको छु, म अहिले यही गठबन्धनलाई १५/२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु ।’

दाहालले भरतपुरको जितहारलाई गठबन्धनको मात्र नभई देशकै भविष्यसँग तुलना गर्न पनि खोजें । उनले भने, ‘भरतपुर महानगर प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीलाई भोट नहाले देश नै दुर्घटनामा जान सक्छ, होइन यो राष्ट्र र जनताको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेणु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले यो गठबन्धन राष्ट्र, लोकतन्त्र र विकासको आवश्यकता हो भन्ने नबुझे देश दुर्घटनामा जाने चेतावनीसमेत दिए ।

सभाको अन्तिममा सम्बोधन गरेका कांग्रेस सभापति देउवाले पनि गठबन्धन जोगाउन भरतपुर जित्नैपर्ने भनाइ राखे । ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदैहुँदैन, यो कुरामा स्पष्ट हुनुस् तपाईंहरू,’ देउवाले भने ।

भरतपुरमा कांग्रेसकै उम्मेदवार उठेकाले पनि अन्यभन्दा यो महानगरले बढी चर्चा पाएको छ । कांग्रेसबाट उठेका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता गराउनेदेखि निष्क्रिय राख्ने कांग्रेस र गठबन्धनका अन्य दलको प्रयास सफल हुन सकेको छैन । त्यसैले भरतपुरलाई लिएर देउवा तनावमा छन् । भरतपुरमा रेणु दाहाल हारे माओवादी अर्काे निर्वाचनमा एमालेसँग मिल्न सक्ने डर पनि देउवालाई छ ।

यही कुरालाई लक्षित गर्दै देउवाले चुनावी सभामा भने, ‘मैले गठबन्धनको विरोधको आवाज यहाँ मात्रै सुनें, अन्त सबैतिर गठबन्धनको पक्षमै माहोल देखेको छु । अन्त विरोध छैन, यहाँ मात्रै विरोध छ । गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यदि त्यसो भयो भने हाम्रो पार्टी पनि बिग्रिन्छ, खत्तम हुन्छ ।’

चुनावी सभामा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले रेणु दाहालको यअसघिको कार्यकालको पनि खुलेर प्रशंसा गरे । ‘ठाउँठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ । यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ नि,’ देउवाले भने, ‘स्मार्ट सिटीको कुरा उठाउनुभएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नुभएको छ, यो सानो कुरा हो ? इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नुभएको छ, यो सानो कुरा हो ?’

रेणु दाहालले देखेका सपना साना कुरा नभएको पनि देउवाको भनाइ थियो । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नु, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बने संसारभरका मानिस यहाँ आउँछन् । उहाँले देखेका यी सपना यहीँकै लागि हो । तपाईंहरूका लागि हो,’ देउवाले भने, ‘त्यही पनि रेणु भएन भन्नुहुन्छ, यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ?’ रेणुले आफ्नै कामले जितिसकेको पनि देउवाको भनाइ थियो ।

‘उहाँ आफैंले जितिसक्नुभयो । जित्नुहुन्छ । हामीले त्यसै आरोप लाउने ?’ देउवाले भने, ‘राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान् ? यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो । त्यसैले सबैले उहाँलाई सहयोग गर्नुहोस् ।’

देउवाले रेणु दाहाललाई जिताएर गठबन्धनका पक्षमा लाग्न पनि आग्रह गरे । उनले भने, ‘उहाँलाई जिताउनुहोस्, १०÷२० वर्ष गठबन्धन टिक्छ, उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरूले बखेडा गर्नु आवश्यक छैन ।’

चुनावी सभामा बोलेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि भरतपुर जितेर गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले गठबन्धनलाई निरन्तरता दिनका लागि पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको भनाइ राखे ।

पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाइएको भन्दै नेपालले यसले गठबन्धन दललाई केही न केही फाइदा भएको पनि बताए । ‘अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।’

दलहरूबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए । उनले भने, ‘दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।’

भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेणु दाहाललाई पुष्पकमल दाहालको छोरीका रूपमा मात्र बुझ्न नहुने पनि उनले बताए । उनले भने, ‘रेणुलाई पुष्पकमल दाहालको छोरीका रूपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी एमाले भएको बताए । उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता भएको बताउँदै पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला आफूले गठबन्धनको प्रस्ताव गरेको पनि सुनाए । ‘संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्नेगरी व्यवस्था गरेको छ, अरूसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले पाँच दलीय गठबन्धनलाई देशैभरि जिताउनुपर्ने बताए । ‘संघीयताविरोधी फैलाइएका भ्रम चिर्न पाँच दलीय गठबन्धन जिताउनुपर्छ, पाँच वर्षभित्र के गर्न सकिन्छ, त्यो भनेर गर्नुपर्छ,’ उनले भने । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !