८ बैशाख २०८१, शनिबार

को हुन् सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी अर्याल ?


राजु अर्याल

काठमाडौँ । २३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका ४८ वर्षीय राजु अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय मानवीय कानुनमा पीएडीका स्कलरसीय होल्डरसमेत हुन् ।

उनले स्वदेशमा विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिम, उच्च व्यवस्थापन र विकास, एड्भान्स ट्रेनिङ अन नेसनल सेक्युटिरीसहित १० वटा तालिम लिएका छन् । त्यस्तै, उनले अमेरिका, श्रीलंका, जर्मन, चीन र इटालीमा गरी पाँचवटा विदेश तालिम गरेका छन् ।

प्रहरीमा रहँदा तत्कालीन वडा प्रहरी कार्यालय बौद्धको प्रमुखको जिम्मेवारी वहन गरेका उनले सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि आठवटा कार्यालयमा प्रमुख भएर काम गरिसकेका छन् । उनले सशस्त्र प्रहरी बल बाघभैरव गुल्म, सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, कालिञ्चोक भगवती गण, चण्डिका गण, तालिम महाविद्यालय लामापाटन, यूएन तालिम केन्द्र ककनी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ९ पशुपतिनाथ वाहिनी मुख्यालयमा प्रमुख भएर काम गरेका हुन् ।

यस्तै, उनले सशस्त्र प्रहरी नायब उपरीक्षक हुँदा १८ पुस २०६० देखि १७ असर २०६१ सम्म लाइबेरिया मिसनमा काम गरेका थिए । २५ वैशाख २०६३ देखि ५ वैशाख २०६४ सम्म यूएन मिसन सुडानमा काम गरेका उनी २० फागुन २०६८ देखि २० फागुन २०६९ सम्म यूएन मिसन डार्फरमा कार्यरत थिए । १० माघ २०७० देखि २४ मंसिर २०७१ सम्म उनी लाइबेरियामा एफपीयू कमान्डरका रूपमा कार्यरत थिए ।

२०७८ सालमा सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट विभूषित उनी २०७४ सालमा सुप्रबल जनसेवाश्री, २०६२ सालमा परदेश सेवापदक, २०६१ सालमा गोरखा दक्षिणबाहु चौथोबाट विभूषित भएका थिए । यस्तै, उनले २०६३ सालमा सुडानमा यूएन मेडल, २०६१ सालमा लाइबेरियामा रहँदा यूएन सेवापदक पाएका थिए । २०६० सालमा उनलाई दैवी प्रकोप उद्धार पदक प्रदान गरिएको थियो ।

हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले नयाँ उचाइ लिने सशस्त्रका अधिकृतको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् । उनी २०७७ सालको उत्कृष्ट बाहिनीपति पनि बन्न सफल भएका थिए ।

सिंहबहादुर श्रेष्ठ र शैलेन्द्र खनाल महानिरीक्षक हुँदा उनले केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत वहन गरेका थिए । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !