७ बैशाख २०८१, शुक्रबार

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी


स्थानीय निर्वाचन

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि तोकिएको पहिलो दिन आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको हो । जसअनुसार अध्यक्ष वा प्रमुख पदमा १ हजार ३५ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, उपाध्यक्ष वा उपप्रमुख पदमा पहिलो दिन ५ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्ष पदमा ३ हजार १ सय ७१ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।

यसैगरी, खुला सदस्य पदमा देशभर उम्मेदवारको मनोनयन दर्ताको पहिलो दिन ३ हजार ७ सय १३ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्य पदमा १ हजार ७ सय ७० जनाको उम्मेदवारी परेको छ । यसैगरी दलित महिला सदस्य पदमा १ हजार ३ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि सोमबार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नका लागि समय दिएको छ । आइतबार भने धेरै जसो दलका उम्मेदवारका भन्दा पनि स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित हुनेछ भने मंगलबार दाबीविरोधको समय निर्धारण गरिएको छ ।

काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी
आइतबार काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । काठमाडौंको मेयरका लागि पहिलो उम्मेदवारी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव आनन्दराज जोशीले दिएका हुन् । यसैगरी, रविकान्त मानन्धर र राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !