८ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरीका लेखा उपसमूहका १० जना डीएसपीमा सिफारिस


सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूह लेखा उपसमूहमा रिक्त १० नायब उपरीक्षक (डीएसपी) पदमा नाम सिफारिस गरेको छ । बढुवा समितिको बिहीबार बसेको बैठकले सिफारिस गरेका १० जनामा लेखा शाखा प्रमुख गणेशबहादुर मल्ल पहिलो नम्बरमा रहेका छन् ।

यसैगरी, करबहादुर घर्तीमगर, रमेश थापा, खुसबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल, उमाकान्त जोशी र सुदनराज गिरी बढुवा सिफारिसमा परेका छन् ।

पहिलो नम्बरमा सिफारिसमा परेका सशस्त्र प्रहरी निरीक्षक मल्लले बेरुजु फस्र्याैटमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चारवर्षे कार्यकालमा बेरुजु फस्र्याैटमा सशस्त्रलाई तीनपटक उत्कृष्टमा पुर्याउन उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

खनाल महानिरीक्षक भएपछिको दोस्रो आर्थिक वर्षमा ८६.०९ प्रतिशत नम्बर प्राप्त गरेर सशस्त्र प्रहरी सर्वाेत्कृष्ट भएको थियो । त्यसपछिका वर्षमा सशस्त्र प्रहरीले ६१.९१ र ६०.५५ प्रतिशत प्राप्त गरेर बेरुजु फस्र्याेटमा सशस्त्र प्रहरी उत्कृष्ट बनेको थियो ।

नेपाल प्रहरीमा सेवा आरम्भ गरेर सशस्त्रमा स्थानान्तरण भएका हमाल सशस्त्र प्रहरी निरीक्षक भएको १८ वर्ष पुग्नै लाग्दा डीएसपीमा सिफारिसमा परेका हुन् । डीएसपीमा सिफारिसमा परेका हमाल र जोशी पनि मल्लकै ब्याची हुन् ।

यसैगरी, डीएसपीमा सिफारिसमा परेका घर्तीमगर र थापा सिसं ५ का हुन् । श्रेष्ठ र उर्मिला थापा पनि इन्सपेक्टर भएको १७ वर्ष भइसकेको छ । उनीहरू सिसं ६ का हुन् । केसी, ढकाल र गिरी सिसं ७ का हुन् ।

माथिल्लो तहमा दरबन्दी रिक्त नहुँदा उनीहरू लामो समयसम्म एउटै पदमा कार्यरत रहन बाध्य भएका थिए । बढुवा नहुँदा उनीहरूमा नैराश्यतासमेत बढ्दै गएको थियो । तर, सरकारले ५ फागुनमा डीएसपीको १० वटा दरबन्दी थप भएपछि उनीहरूका लागि बढुवाको बाटो खुलेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !