६ बैशाख २०८१, बिहिबार

काठमाडौं महानगर : एमालेलाई विरासत जोगाउने चुनौती


एमाले

काठमाडौं । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडांै महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

एमालेलाई विरासत जोगाउने चुनौती

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र गम्भीर छलफल जारी छ । यस्तै, ललितपुर महानगरपालिकामा समेत मेयरको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमालेले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि आँफै दौडधुपमा छन् । तर, शाक्यले अपेक्षित रूपमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

संघीय सरकारको सहरी विकास राज्यमन्त्री भइसकेका रामवीर मनान्धर पनि काठमाडौं महानगरको मेयरमा आकांक्षी रहेका छन् । मानन्धर मेयरका लागि दौडधुपमा लागेका छन् । उनी बलिया प्रतिस्पर्धी हुन् ।

यस्तै, काठमाडौं महानगरका पूर्वमेयर तथा बाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री केशव स्थापित समेत मेयरका लागि दौडधुप मा लागेका छन् । तत्कालीन मेयर हुँदा स्थापित विभिन्न क्रान्तिकारी र नवीन काम गरेर चर्चामा आएका थिए । स्थापित पनि आफूले मेयरमा उम्मेदवारी दिने बताउँदै आइरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !