७ बैशाख २०८१, शुक्रबार

कमल थापा र हृदयेश त्रिपाठी नयाँ दल खोल्दै


कमल थापाले बोलाएको बैठक

काठमाडौं । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल दर्ता गर्न पाइने कि नपाइने भन्ने विषयमा उनीहरू निकट नेताहरू निर्वाचन आयोगसँग सोधपुछ गर्न बुधबार आयोग पुगेका थिए ।

आयोगले दल दर्ताका लागि बन्देज नभएको जवाफ दिएपछि त्रिपाठी र थापा नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । उनीहरू दुवैले फरकफरक दल दर्ता गर्ने तयारी गरेका हुन् । थापाले मंगलबार मात्रै राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

निर्वाचन आयोगले संविधानको धारा २६९ अनुसार दल दर्ता गर्ने गर्छ । त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २७१ अनुसार पुनः आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ ।

कानुनअनुसार आयोगले दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनसम्ममा आयोगमा दल दर्ता गरिसक्नुपर्ने व्यवस्था छ । यो समयभित्रै आयोगले प्राप्त कागजात जाँचबुझ तथा छानबिन गर्ने र सनाखत गर्नेसम्मका काम सक्नुपर्नेछ ।

दर्ता भएका दल पनि निर्वाचनका लागि पुनः दर्ता हुनुपर्ने

आयोगले केही दललाई दर्ता गरी दलको मान्यता दिँदा फास्ट ट्र्याकबाटसमेत दर्ता गरेको उदाहरण छ । यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको दललाई आयोगले निवेदन प्राप्त भएको १० दिनमा नै दर्ता गरेको थियो ।

यस्तै, माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा २० दिनमा नै नेकपालाई दलको मान्यता दिएको थियो भने जसपा एकीकरण हुँदासमेत आयोगले १५ दिनमा नै दलको मान्यता दिएको थियो ।

आयोगले २०७२को संविधान जारी भएपछि संविधान र कानुनअनुसार पाँच वर्षभित्रमा पार्टीको अधिवेशन नसकेका दलहरूलाई भने निर्वाचनमा सिधै सहभागी गराउँदैन । आयोगले त्यस्ता दलहरूलाई स्पष्टीकरण सोध्ने, जरिमाना गराउनेसहितका कारबाही गरेपछि मात्रै निर्वाचनमा सहभागी हुन दिनेछ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !