१२ बैशाख २०८१, बुधबार

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने


बादल, रायमाझी र भट्ट

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ ।
उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् ।
अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

सामूहिक राजीनामा दिने मनस्थितिमा

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ ।यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !