८ बैशाख २०८१, शनिबार

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?


एमाले महाधिवेशनको तयारी

काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ ।

सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघटनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो ।

यद्यपि, त्यसलाई पुनः बढी प्रगतिशील, समाजवादी बनाउने अभियानमा नेताहरू चुकेको आरोपसमेत एमालेमाथि लागेको छ । वैचारिक रूपमा सशक्त हुन नसकेको एमालेमा विचारको राजनीतिभन्दा पनि शक्तिको राजनीतिले प्राथमिकता पाएको देखिएको छ ।

यस्तो अवस्थाबाट गुज्रिएको एमालेलाई एक ढिक्का बनाउने र त्यसको जगमा मुलुकलाई पुनः नेतृत्व गर्ने मार्ग तयार गर्न यो अधिवेशन सफल हुने आशा नेता कार्यकर्ताहरूले गरेका छन् ।

एमालेमा पार्टी सदस्यको संख्या धेरै छ र नेतृत्वमा पार्टी रूपान्तरण गर्न सक्ने वैचारिक राजनीतिक क्षमता भएका नेताहरूको पनि उतिकै उपस्थिति छ ।

एमाले मुलुकभर संगठन भएको ठूलो कम्युनिस्ट पार्टीको रूपमा स्थापित छ । पटकपटक मतभेदका कारण पार्टीमा उत्पन्न हुने द्वन्द्व व्यवस्थापनमा भने एमाले कमजोर हुँदै आएको आरोप राजनीतिक विश्लेषकको छ ।

वामपन्थी विश्लेषकका अनुसार जब नेपालमा कम्युनिस्ट पार्टी एकताको विषयले चर्चा पाउँछ तब देशीविदेशी शक्तिहरूले चलखेल गर्ने गरेका छन् र एकीकृत पार्टी फुटाइदिने गरेका छन् । एमाले महाधिवेशनले सो पार्टी मुलुकमा कम्युनिस्ट शक्तिको रूपमा बलियो बनेर आउने मद्दत पुग्ने एमाले पंक्तिले विश्वास लिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !