७ बैशाख २०८१, शुक्रबार

हिमताल फुट्ने र हिमपहिरो गएर ठूलो बाढी पहिरोको जोखिममा नेपाल


हिमताल

काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।

हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्छ ।

हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।

जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको सम्मेलनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा अनुकूलनको कार्यक्रमसँगै जलवायुजन्य विपद्बाट हुने क्षतिपूर्तिका लागि सहयोग हुनुपर्नेमा जोड दिए ।

नेपालको पश्चिमी क्षेत्रमा विगत झन्डै ५ सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् ।

पाँडेसहित वातावरणीय विपद्जन्य अवस्थाका जानकारले हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि पर्याप्त ध्यान जानुपर्नेमा जोड दिएका छन् । नेपालका हिमताल विस्फोट भई विपद् आउन सक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् ।

उनी भन्छन्, ‘हरेक १० वर्षमा ठूला बाढी आएका छन् । कुनै पनि समय नेपालमा ठूलो प्राकृतिक दुर्घटना नहोला भन्न सकिँदैन ।’ नेपालमा ३ हजार बढी हिमताल छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् ।

त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् । जसले नेपालमा कुनै पनि बेला असर पुर्याउन सक्छ । अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चारवटा ताललाई जोखिम न्यूनीकरण गर्ने योजना रहेको उनको भनाइ छ ।

पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रूपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमताल खतरामा रहेको उनको भनाइ छ । एक वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालको सूचीमा पर्छ जसको संरचना र स्वरूप जोखिमयुक्त देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !