१३ बैशाख २०८१, बिहिबार

देउवाले दिए विवादित व्यक्तिको हातमा निगमको तालाचाबी


युवराज अधिकारी

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा इलामका युवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी निगममा ३४ वर्ष काम गरेर डेढ वर्षअघि ५८ वर्षे अनिवार्य अवकाशबाट बिदा भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले गठबन्धनमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का नेता झलनाथ खनालको सिफारिसका आधारमा अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको बताइएको छ ।

२०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख हुँदा दुई जना महिला अधिकृतले ०७४ भदौमा आफूहरुलाई यौन हिंसा गरेको भन्दै उनीविरुद्ध तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित प्रधानमन्त्री कार्यालय, महिला आयोगमा उजुरी गरेका थिए । निगमले त्यसबेला गरेको आन्तरिक छानबिनको सुझावका आधारमा उनलाई निलम्बन गरिएको थियो ।

निगमका तत्कालीन महाप्रबन्धक कंसाकारका अनुसार अधिकारीले महिलाहरुको उजुरी सार्वजनिक नगर्न पत्नीसहित कार्यकक्षमै रुवाबासी गरेपछि ट्रेड युनियन, तत्कालीन मानव संशाधन विभाग प्रमुख र पीडित पक्षलाई राखेर ०७४ कात्तिकमा मिलापत्र गराएका थिए ।अधिकारीले माफी मागेपछि मिलापत्र भएको थियो ।

सोमबार मन्त्रिपरिषद्को बैठकपछि अधिकारीले आफूलाई ४ वर्षका लागि झलनाथ खनालसहितको सहयोगमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको बताए । उनले विगतको घटना त्यतिबेलै मिलिसकेको र अब आफूले त्यसबेला उजुरी गर्ने हस्ताक्षर संकलन गर्ने कुनै पनि कर्मचारीलाई भेदभाव नगर्ने प्रतिक्रिया दिए ।

‘सरकारले मेरो आवश्यकता महसुस गरेर नियुक्त गरेको हो । म पार्टीको कार्यकर्ता होइन । कुनै आर्थिक सहयोग गर्ने बाचा पनि गरेको छैन,’ अधिकारीले भने, ‘म निगममा केही गरौं भनेर आएको छु । तपाईंहरुसँग बसेर सरसल्लाह गर्छु । सहयोग गर्नुपर्छ ।’

निगमको सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो । निगमको कार्यकारी प्रमुखमा डिमप्रसाद पौडेल थिए । कार्यकारी अध्यक्षमा अधिकारी आएसँगै महाप्रबन्धक पौडेलको जिम्मेवारी खुम्चिएको छ । कार्यकारी अध्यक्षसँग निगमको सञ्चालक समितिदेखि व्यवस्थापनसम्बन्धी सबै निर्णय गर्ने अधिकार हुन्छ ।

अधिकारीको नियुक्तिप्रति निगमका निर्देशक तथा कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् । निगमका एक निर्देशकले भने, ‘निगम ५० अर्ब ऋणमा छ । संस्था धराशायी भएको अवस्थामा सरकार भने विवादित मान्छे खोजी–खोजी नियुक्ति दिन्छ । सरकारको यो निर्णयले निराश बनाएको छ ।’

पूर्व महाप्रबन्धक कंसाकारले सरकारले अधिकारीलाई ल्याउन गरेको निर्णय ‘पागलपनको पराकाष्ठा’ भएको प्रतिक्रिया दिए । ‘मलाई त ठट्टा गरेको जस्तो लाग्यो । राजनीतिक नियुक्ति कस्तो हुन्छ भन्ने फेरि एक पटक पुष्टि भएको छ । सरकारलाई नियुक्ति नै गर्नु थियो ऊ भन्दा क्षमतावान मान्छे धेरै थिए,’ कंसाकारले भने ।

यसैबीच सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षत्रीलाई नियुक्त गरेको छ । क्षत्री हाल निमित्त महानिर्देशक थिए । उनी अढाई महिनामा अनिवार्य अवकाश पाउँदैछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !