७ बैशाख २०८१, शुक्रबार

तनावमा प्रधानन्यायाधीश जबरा, दबाबमा नेपाल बार एसोसिएसन


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार भेट्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘तनावमा’ थिए। तीन घण्टा छलफलपछि फर्किंदा बार पदाधिकारीले ‘दबाब’ महसुस गरिरहेका थिए। उनीहरूलाई सर्वोच्च परिसरमा सहकर्मी कानुन व्यवसायीले औंला ठड्याए। उनीहरूले सुझाए, ‘बारले आफ्नो ओज नघटाओस्।’

छलफलमा प्रधानन्यायाधीश लचिलो देखिएका थिए। उनले सोमबारको पूर्ण बैठक (फुलकोर्ट)मा सहभागी हुन आग्रह गर्दै समस्या समाधानका लागि आफू तयार भएको जनाए। छलफलमा सहभागी एक सदस्यले भने, ‘उहाँ (प्रधानन्यायाधीश) तनावमा देखिनुहुन्थ्यो।’

बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशले २०४१ सालमा पत्नी बितेपछि ससुराली नगएको बताएको सुनाए। ‘मेरो जेठान (गजेन्द्र हमाल) लाई मन्त्री बनाइदिनुहोस् भनेर कोही नेतालाई भनेको होइन।

मिडियामा नाम आएपछि मन्त्री नबनाइदिनुहोस् भनेर प्रधानमन्त्रीलगायत नेतालाई भनेको हुँ’, प्रधानन्यायाधीशलाई उदृत गर्दै महासचिव पौडेलले भने। जबराले न्यायपालिका सुधार गर्ने क्रममा सम्पूर्ण अदालतमा गोला (राफल) प्रणालीबाट पेसी तोक्ने प्रतिबद्धता जनाएका थिए।

बारका अध्यक्ष श्रेष्ठले संस्था सुधारका लागि जो कोही पनि त्याग गर्न तयार हुनुपर्ने बताए। ‘सुधार गर्न नसके छोड्नुपर्ने हुन्छ। उहाँले (प्रधानन्यायाधीशले) सुधार गर्न सक्नु हुन्छ भने अहिले नै छोड्नुपर्छ भन्ने होइन’, उनले भने।

सोमबार सर्वोच्चमा हुने पूर्ण बैठकमा समसामयिक विषयमा व्यापक रूपमा छलफल गरिने उनले बताए। ‘कुनै विकल्प लिनुपर्ने अवस्थामा आएमा बार एसोसिएसन चुप लागेर बस्दैन।’ उनले भने, ‘मन्त्रिपरिषद्मा भागबन्डा र राजीनामाको विषयमा पनि भोलि छलफल हुन सक्छ।’

न्यायालय पवित्र थलो हो। तर, यहीं थलो दूषित हुँदै जाँदा अराजकता झन्–झन् बढ्दै गएको छ। न्यायिक स्वतन्त्रता र स्वच्छता हुनुपर्नेमा उल्टो दिशातर्फ अग्रसर भइरहेको छ। न्यायालयको गरिमा अक्षुण राख्नुपर्नेमा क्षयिकरण हुँदै गएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ठ दैनिकमा दिनेश गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !