१२ बैशाख २०८१, बुधबार

चरम नैतिक संकटको कठघरामा प्रधानन्यायाधीश जबरा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् ।

आफूमाथि लागेका आरोपलाई उनले गलत साबित गर्न नसक्दा न्यायाधीशहरूले उनलाई बहिष्कार गर्नेसम्मको स्थिति बन्न पुगेको छ । सर्वाेच्च अदालतका १४ न्यायाधीशले आइतबार बैठक बसेरै प्रधानन्यायाधीश जबराले सोमवारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका छन् ।

उनीहरूले इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन दबाव परेको छ ।

आइतवारको बैठकमा सर्वाेच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौँमा थिएनन् । १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए ।

यसैबीच, प्रधानन्यायाधीश जबराले आइतवार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेका छन् । उनले छलफलपछि सोमवारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए तर न्यायाधीशहरूले बैठकले बहिष्कार गर्ने निर्णय गरेसँगै बैठक के हुने भन्नेबारे अन्यौल सिर्जना भएको छ । यो समाचार आजको आर्थिक अयिभान दैनिकमा विजय दमासेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !