८ बैशाख २०८१, शनिबार

एमसिसी पारित हुन्छ, कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन् यार : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पारित हुने बताएका छन् । धनगढीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी संशोधनविना नै पारित हुने बताएका हुन् ।

सञ्चारकर्मीले राखेको ‘संशोधन हुन्छ कि जस्ताको त्यस्तै पारित हुन्छ ?’ भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘संशोधन गर्नुपर्ने केही छँदै छैन ।’ एमसिसी अनुदानमा आधारित सम्झौता भएको र नेपालको कानुनमातहत रहने भएकाले यसबारे कुनै संशय गर्नु नपर्ने उनले दाबी गरे । एमसिसीबारे झुटो प्रचार भइरहेकोसमेत उनले बताए । ‘एमसिसीमा नेपालकै कानुन लागू हुने उसले भनिसकेको छ,’ देउवाले भने, ‘कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन् यार ।’

वर्ल्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भए पनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने उनको दाबी थियो । ‘वर्ल्ड बैंक, एडिबीमा नेपालको कानुन लागू हुँदैन । झगडा परे अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ, किनभने त्यो ऋण हो,’ देउवाले भने, ‘एसिसी त अनुदान हो । नेपालको कानुन लागू हुन्छ । एमसिसी नेपालकै कानुनभन्दा तल हो उनीहरूले भनिसके ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तेजराज भट्टले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !