आलुको मूल्य एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो Nepalpatra आलुको मूल्य एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो
१० कार्तिक २०७८, बुधबार

आलुको मूल्य एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो


आलु उत्पादन

काठमाडौं । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो ।

यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ ।

नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !