१२ बैशाख २०८१, बुधबार

माधव नेपालले छाडे एमाले नाम


माधव नेपाल

काठमाडौँ । माधव नेपालको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) भएको छ। निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा यो पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राखिएको थियो। २०७७ फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धी विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने फैसला गरेको थियो।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले आदेश दिएको थियो । मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि शुक्रबार निर्वाचन आयोग पुगेर माधव पक्षले नेकपा(एकीकृत समाजवादी) प्रस्ताव गरेको हो। चुनाव चिह्नको भने टुंगो लगाएको छैन।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले छुट्टै नामसहित नयाँ निवेदन दर्ता भएको जानकारी दिए। आयोगले नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि ९ गते बुधबार बोलाएको उनले बताए । सनाखतको केन्द्रीय सदस्य तथा सांसदलाई नागरिकताका साथ उपस्थित हुन आग्रह गरेको छ।

प्रस्तावित नेकपा (एकीकृत समावादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीले एकताको सबै ढोका बन्द गरेपछि नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गर्नु परेका बताए। ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं,’ उनले भनेका छन्।

उनले जनताबाट सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन्। ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवं समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं,’ उनले भनेका छन् ।

उनले हाललाई नयाँ दलमा साविक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेकाहरू, विद्रोहका पक्षमा हस्ताक्षर गर्नेहरू र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि बताएका छन् ।

‘अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,’ उनले भनेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !