७ बैशाख २०८१, शुक्रबार

जसले प्रधानमन्त्री छोडे तर मधेस मुद्दा छोडेनन्


महन्थ ठाकुर

काठमाडौं । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत उहाँ अस्वीकार गरेर मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरूले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यति हो’ ठाकुर निकटका नेता शुक्लले भने ।

जसपाभित्र विवाद चर्किएका बेला ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादवको एक संयुक्त विज्ञप्ति आयो । जसमा भनिएको थियो, ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अघि बढ्न सकिनेछ ।’

यस सहमतिपश्चात् ठाकुर र यादवबीचको विवाद समाधान हुने विश्वाससहित ठाकुर प्रधानमन्त्री हुने वातावरण बनेको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतले प्रधानमन्त्री हुन ठाकुरलाई प्रस्ताव गरेका थिए ।

गठबन्धनको सरकार बनाउन कसरत भइरहेका बेला अध्यक्ष प्रचण्डले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि कांग्रेसका वरिष्ठ नेता पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए । प्रधानमन्त्री बन्ने अवसर ठाकुरलाई आए पनि उनी विशेषगरी मुद्दा सम्बोधनमा केन्द्रित भएको जसपा नेताहरू बताउँछन् ।

शुक्लका अनुसार उनले त्यतिबेला मुद्दा छोडेर प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको भए राजनीतिक कोर्स पनि बेग्लै हुने थियो । तर, त्यसो नभएको बताउँदै यसबीचमा ठाकुर र महतोकै पहलमा मधेसका केही माग सम्बोधन भएको उनले बताए । मुद्दा फिर्तादेखि संविधान संशोधनका लागि सरकारी स्तरमा समिति गठन, नागरिकतासम्बन्धी अध्यादेश आउनु उपलब्धि नै रहेको ठाकुर पक्षका नेताको बुझाइ छ ।

‘हिजोको दिनमा संविधान संशोधन गर्न भनेपछि आवश्यकता र औचित्यका आधारमा गर्ने भन्ने ओलीसमेत संशोधनका लागि तयार हुनु र नागरिकतासम्बन्धी अध्यादेश ल्याउनु राम्रो पक्ष नै हो,’ शुक्लले भने, ‘कोही कोही त सम्झौता गरेर भए पनि सरकारमा गए तर केही गर्न सकेनन् । हामी सरकारमा सहभागी नभई मुद्दा सम्बोधनतर्फ लाग्नुले मधेसको जनमत हामीसँगै छ ।’

मधेसको मुद्दा बोक्नेसँगै जनमत हुने कि सम्झौता गर्ने र सत्तामा रमाउनेसँग जनमत हुन्छ भन्ने निर्णय आउने निर्वाचनबाट हुने उनले बताए ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर ठाकुर अहिले राजनीतिक दलविहीन अवस्थामा पुगे पनि मुद्दा ठाकुरसँगै रहेको बताउँछन् । मधेसका मुद्दा सम्बोधनका लागि धेरै कुरा त्याग गरेका ठाकुरले ओलीको पछिल्लो कदमलाई सहयोग गर्नू ठीक नभएको बताए ।

‘ठाकुरजीसँग मधेसका मुद्दा छन् तर उपेन्द्रजीसँग सत्ता छ । हिजो धेरै कुरा त्याग गरेर मधेसका मुद्दा सम्बोधन गराउन ठाकुरजी लाग्नुभयो । तर, सम्झौता गरेर ओली सरकारमै सहभागी उपेन्द्रजीले केही गर्न सक्नुभएन,’ चन्द्रकिशोरले भने, ‘तर प्रतिनिधिसभा विघटनको पक्षमा दोस्रोपटक उभिनु ठाकुरजीको निर्णय गलत थियो ।’ यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !