७ बैशाख २०८१, शुक्रबार

कोरोना महामारीले चलचित्र क्षेत्र धरासायी : धमाधम बन्द हुँदै फिल्म हल


जय नेपाल फिल्म हाल

काठमाडौँ । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन् ।

२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ । अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ । सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने भएको छ ।

कोरोना भाइरसका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्ण जस्ता हल पनि बन्द भएका छन् । क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए । क्युएफएक्सले सन् २००१ मा जय नेपाल र २००४ मा कुमारीलाई लिएको थियो।

चलचित्र संघको तथ्यांकअनुसार कोरोना भाइरस महामारी फैलिएयता देशभरका २८ फिल्म हल बन्द भइसकेका छन्। संघका महासचिव अशोक दाहालका अनुसार एउटा हल निर्माण हुँदा औसतमा ६ देखि १० करोड रुपैयाँ खर्च हुने गरेको छ।

देशभर दुई सयभन्दा बढी फिल्म हल भए पनि कोरोना भाइरस महामारी फैलिनुअघिसम्म एक सय ९३ स्क्रिन सञ्चालनमा थिए । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि देशभरका फिल्म हल बन्द छन् । चलचित्र संघले गत वर्ष पुसदेखि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खोल्ने स्वघोषणा गरे पनि अधिकांश हल खुलेनन् ।

केही फिल्म हल खुले पनि दर्शकको प्रतीक्षा गर्दागर्दै फेरि बन्द भए । संघका महासचिव शर्माका अनुसार १६ महिना देशभरका एक सय ९३ वटा हल बन्द हुँदा फिल्म क्षेत्रले १५ अर्बभन्दा बढी घाटा बेहोर्नुपरेको छ ।

यस हिसाबले १६ महिनामा ६ अर्ब ९१ करोड रुपैयाँ हाराहारीको टिकट बिक्रीमा हुन्छन् । प्रतिदिन तीन शोका दरले फिल्म प्रदर्शन हुँदा १६ महिनामा २० अर्ब हाराहारीका टिकट बिक्रीमा हुन्थे।

चलचित्र संघका अनुसार झापाका दमक चलचित्र मन्दिर, कृष्ण चलचित्र मन्दिर, मोरङको सुकुना चलचित्र मन्दिर, बेलबारीको शारदा चलचित्र मन्दिर, धनुषाको लवकुश चलचित्र मन्दिर, जनकपुरको रामजानकी पिक्चर्स, चितवनको नारायणी चित्र मन्दिर सदाका लागि बन्द हुँदैछन् ।

त्यस्तै भक्तपुरको बाराही चलचित्र मन्दिर, दमौलीको उत्तरोशिला चलचित्र मन्दिर, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बागलुङको कालीगण्डकी मन्दिर, दाङको सत्यसाई चलचित्र, विष्णु चलचित्र मन्दिरसँगै रुपन्देहीको पद्मश्री चलचित्र मन्दिर, कुस्माको सिद्धेश्वर चलचित्र मन्दिर र धनकुटाको केडिभी सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन्।

कोरोना भाइरस महामारीअघि तयार भएर रिलिज हुन नपाएका, सुटिङ र पोस्ट प्रोडक्सनका काम अड्किदा झन्डै दुई अर्ब रुपैयाँ लगानीका चलचित्र अलपत्र परेका छन् । रिलिज हुन बाँकी फिल्मका निर्माता ऋणको ब्याज तिरिरहेका छन् । झन्डै तीन दर्जनभन्दा बढी फिल्म निर्माण भइसकेका छन् भने ४५ हाराहारी फिल्म सुटिङ र पोस्ट प्रोडक्सनमा रोकिएका छन् ।

कोरोना भाइरस महामारीसँग १५ सय हाराहारीका प्राविधिक बेरोजगार हुन पुगेको चलचित्र प्राविधिक संघले जनाएको छ । संघले विभिन्न चरणमा प्राविधिकलाई राहत वितरण गरे पनि त्यो पर्याप्त नभएको उनले बताए ।

यसअघि फिल्मकर्मीले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई भेटेर कोरोना भाइरस महामारीअघि निर्माण भई प्रदर्शनका लागि तयार भएका फिल्मलाई लगानीको ५० प्रतिशत अनुदान सहायता उपलब्ध गराउनुपर्ने, कोभिड महामारीले हालसम्म बन्द रहेका फिल्म हलको घाटाको ५० प्रतिशत अनुदान सहायता दिनुपर्ने, हालसम्म बन्द रहेका हलहरूले बाल्दैनबालेको विद्युत्को डिमान्ड शुल्कमा छुट दिनुपर्ने, वितरकले लगानी गरे बराबरको रकम एक प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

त्यस्तै दीर्घकालीन नीतिअन्तर्गत करिब १० वर्षका लागि सुविधासम्पन्न सुटिङ स्टुडियो निर्माण गर्न बजेट व्यवस्था गर्नुपर्ने, दक्ष जनशक्ति उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, १० वर्षसम्म फिल्ममा लाग्ने सबै प्रकारका करबाट निर्माता, वितरक, प्रदर्शक, कलाकार, प्रविधिक, उपकरणमा छुट गर्दै फिल्म क्षेत्रलाई करमुक्त गर्न माग गरेका थिए।

फिल्म हल बन्द भइरहँदा चलचित्र विकास बोर्डको आम्दानी शून्यमा झरेको छ । विदेशी फिल्मलाई प्रदर्शन अनुमति दिँदा वार्षिक १० करोड रुपैयाँ चलचित्र विकास शुल्क र यति नै मात्रामा राजस्व उठ्ने गरेको थियो । नेपाली र विदेशी फिल्मबाट मासिक न्यूनतम २० करोड रुपैयाँ आम्दानी हुने गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !