८ बैशाख २०८१, शनिबार

आफ्नै घरमा आगो लगाएर खरानी बनाएका माधव नेपालका दु:खका दिन शुरु


माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।

पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्ने लगायतका निर्णय गराएका थिए।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले १० बुँदेसहमति गरेर अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई प्रतिवेदन बुझाएको थियो। ओली र नेपालबीचको शत्रुतापूर्ण व्यवहारका कारण कार्यदलको प्रतिवेदन भने अलपत्र छ ।

आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष ओली नेपालसँग क्रुद्द छन्। नेता नेपाल पनि ओलीले ‘अति गरेको’ भन्दै देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरूसहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहन्छन्। त्यसको पहलसमेत गरिरहेका छन्।

नेपाल पक्षको २३ मतको बलमा देउवा सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेपछि ओली नेपालसँग रुष्ट छन्। प्रधानमन्त्रीबाट हटेर आफ्नो निवास बाल्कोटमा सरेलगत्तै अध्यक्ष ओलीले नेपाललाई पार्टीमा स्थान नरहेको धारणा सार्वजनिक गरेपछि पार्टी विवाद झन् पेचिलो बनेको हो ।

दुई नेताबीच सहमति नभई बैठक गर्न नहुने भन्दै नेपाल पक्षधर कार्यदलका संयोजक भीम रावल सहितका सदस्यहरू सक्रिय थिए। ओलीले भने नेपाल पक्षको उपस्थिति बिनै स्थायी समितिको बैठक गरेर विभिन्न निर्णय गराएका छन्। संस्थापन पक्षले संसदमा देउवाको विपक्षमा मतदान गर्ने र पार्टी प्र्रतिपक्षमा बस्ने निर्णय गरेका कारण नेपाल पक्ष अप्ठ्यारोमा पर्ने देखिन्छ ।

नेपाल पक्षको समर्थनबिना देउवाको बहुमत पुग्न कठिन छ। जनता समाजवादी पार्टी एक ढिक्का भएर देउवाका पक्षमा उभियो भने मात्र त्यो सम्भव हुन्छ। तर, जसपाभित्रको चर्को द्वन्द्वले विश्वासको मत जुट्न कठिन छ ।

स्थायी समितिको बैठकमा एमाले अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको बताउँदै अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा बस्ने स्पष्ट गरेका थिए। अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताए।

स्थायी कमिटी बैठकले देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै अब नेकपा (एमाले) ले सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने निर्णय गरेको छ ।

एमालेले आफ्ना पार्टीबाट निर्वाचित सबै प्रतिनिधिसभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि निर्देशन गरेको छ । एमालेले देउवाको सरकारलाई अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित भएको सज्ञा दिएको छ। बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिपक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

यसरी काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै पार्टीको सरकार ढाल्न अहम् भूमिका निर्वाह गरेर घरमा आगो लगाएर खरानी बनाएका माधव नेपाल अप्ठ्यारोमा परी दु:खका दिन शुरु भएका छन् । एमालेमै रहेर ओलीसँग बस्ने नैतिक संकट समेत उत्पन्न भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !