१३ बैशाख २०८१, बिहिबार

नेकपा एमालेमा अझै कुरा किन मिलेन ?


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन । दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन ।

२०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास गर्न नसकिने भनाइ नेपालबाट आएपछि कार्यदलको बैठक समेत प्रभावित भएको हो ।

बैठक बस्न साँझ सिंहदरबारमा कार्यदल सदस्य भेला भए पनि कुनै छलफल भएन । ओली पक्षका विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार ११ बजे बैठक बस्ने भन्दै कार्यदलका अरू सदस्य बाहिरिएका थिए ।

पौडेलको अनुपस्थितिले कतै ओली फेरि जालझेलमा लागे कि भन्ने शंका उत्पन्न भएको नेपाल समूहका एक नेताले बताए । ओलीको ध्यान सर्वोच्च अदालतमा परेको रिटमा गरिएको हस्ताक्षर फिर्ता गराउनेतर्फ केन्द्रित हुँदा समस्या उत्पन्न भएको उनको बुझाइ छ ।

बिहीबार साँझ नेताहरू निकै उत्साहका साथ कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका थिए। ओली पक्षका सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालका साथै नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी हुन पुगेका थिए । एकै छिनमा कार्यदलको बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित भएको बताएर नेम्बाङ बैठकस्थलबाट निस्केका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता भुसालले १० दिनअघि तय गरेका अजेन्डामै विवाद अड्किएको बताए । यसले विवाद मिल्ने दिशातर्फ भनी मंगलबार र बुधबार गरिएको दाबीको समेत खण्डन गरेको छ ।

नेता नेपालले सम्मानजनक सहकार्य र सहमति खोजिरहेका छन् । उनले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने प्रस्ताव गरेका छन्। सो विषयमा ओलीले सहमति जनाउन सकेका छैनन् ।

‘नेपालले जे विषयवस्तु उठाउनुभएको छ त्यो विषयमा ओलीको सहमति छैन त्यसकारण पनि कार्यदलको बैठक बस्न ढिलाइ भएको हो । कार्यदलको बैठकमा शक्ति सन्तुलन र सांगठनिक तथा राजनीतिक भागबन्डाको विषय उठेको थिएन । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !