चितवन घटना : जसले मलाई बचाऊ भनेर रुँदै फोन गरेकी थिइन् Nepalpatra चितवन घटना : जसले मलाई बचाऊ भनेर रुँदै फोन गरेकी थिइन्
१२ श्रावण २०७८, मंगलबार

चितवन घटना : जसले मलाई बचाऊ भनेर रुँदै फोन गरेकी थिइन्


सुजिता भण्डारीकी आमा अम्बिका भण्डारी

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका-३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन् । रुँदा-रुँदा आँखा राता भएका छन् । छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन् । शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन् ।

आफूलाई सम्हाल्नै सकेकी छैनन् । आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन् । उनीहरू आँखाभरि आँसु बनाउँछन् । अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन् । तर, २३ वर्षीया छोरी सुजिता भण्डारी आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन् ।

छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन् । ‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई । हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मार्यो ।’

ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ । पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस् । मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !