८ बैशाख २०८१, शनिबार

काँग्रेसको पौडेल समूहमा देखिए सभापतिका ८ जना आकांक्षी


रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला र सुजाता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि छलफल अघि बढाएको छ । पौडेल समूहले शुक्रबार राजधानीको बसुन्धारास्थित दियालो फुडल्यान्डमा आगामी महाधिवेशनबारे रणनीतिक छलफल गरेको हो ।

पौडेलले नेतृत्व गरेको समूहमा मात्रै आगामी नेतृत्वका लागि ८ जना आकांक्षी छन् । सो समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, नेत्री सुजाता कोइराला र कल्याण गुरुङले पार्टीको नेतृत्वका लागि चाहना राख्दै आइरहेका छन् ।

कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा शुक्रबारको बैठकमा छलफल भएको र आगामी दिनमा पुनः छलफलमा बसेर नेतृत्वबारे निर्णयमा पुग्ने जानकारी दिइन् ।

‘छलफल सुरु भएको छ, क्रियाशील सदस्यता र महाधिवेशनबारे शुक्रबार छलफल भयो, पार्टी नेतृत्वबारे हामी फेरि छलफलमा बस्छौं,’ नेत्री कोइरालाले राजधानीसँग भनिन् ।

यो समूहमा आफ्नो समूहबाट नेतृत्वका लागि आकांक्षा देखाएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै चुनौती देखिएको छ । तर, हालको संस्थापनतर्फबाट सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि पनि उम्मेदवार बन्ने भन्दै भेटघाट बढाएपछि यो समूह हौसिएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !