८ बैशाख २०८१, शनिबार

बजेटमा एकमत हुने एमाले बागमतीमा कसरी भयो सहमति ?


डोरमणि पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय बोर्डले पार्टीका १४ जना प्रदेश सभाका सदस्य​सँग माग गरेको स्पष्टीकरण फिर्ता लिएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सभामा एकमत भएर जानुपर्ने बाध्यताका बीच एमाले प्रदेश संसदीय बोर्ड स्पष्टीकरण फिर्ता लिने निर्णयमा पुगेको हो ।​ स्पष्टीकरण फिर्ता लिएसँगै नीति तथा कार्यक्रममाथिको छलफलमा एमालेका केही प्रदेश सभा सदस्यले बैठकमा असन्तुष्टि व्यक्त गरे पनि नीति तथा कार्यक्रम स्वीकृतका लागि निर्णयार्थ पेस हुँदा एकमत भएका थिए।​

नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकबाट स्वीकृत गर्नुअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा यहाँ बसेको संसदीय दलको बैठकमा स्पष्टीकरण फिर्ता लिने, नीति तथा कार्यक्रम र बजेटमा एकमत हुने र पार्टी नेतृत्वलाई नयाँ सन्देश दिने सहमति बनेको थियो

जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्य​ उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई असहयोग गरेको भन्दै प्रदेश संसदीय बोर्डले जेठ ८ गते स्पष्टीकरण माग गरेको थियो राष्ट्रिय सभा सदस्य​ उम्मेदवार थापाविरुद्ध लागेर पार्टीका उम्मेदवार हराउन भूमिका निर्वाह गरेकाले किन कारबाही नगर्ने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्यसहितका प्रदेश सभाका सदस्यहरुलाई जेठ ९ गतेभित्र बुझाइ सक्नुपर्ने गरी बोर्डले स्पष्टीकरण सोधेको थियो ।

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमाले वरिष्ठ नेता नेपाल र जनता समाजवादी पार्टी (जसपा)ले साझा उम्मेदवारका रूपमा अघि सारेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए ।

१४ जना प्रदेश सभाका सदस्यहरूले स्पष्टीकरण दिँदै राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कसले कसलाई मतदान गर्यो भन्दै पूर्वानुमान गर्दै स्पष्टीकरण सोधिनु गैरकानुनी र अलोकतान्त्रिक भएको बताएका थिए ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बागमती प्रदेश सभामा एमाले एक भएको, विवाद नरहेको र एकमत भएर जाने सन्देश दिएको दाबी गरे उनले स्पष्टीकरण फिर्ता लिएको भन्दै पुराना कुरा बिर्से संसदीय दल अब नयाँ शिराबाट अघि बढने बताए

आगामी असार १ गते प्रदेश सरकारको बजेट ल्याउन समेत एक हुने र बजेटमा नेपाल पक्षका प्रदेश सभाका सदस्यहरूको मागहरूको समेत सम्बोधन गर्ने सहमति भएको छ ।

नेपाल पक्षका प्रदेश सभाका सदस्य​ शान्तिप्रसाद पौडेलले प्रमाण नभएको विषयमा स्पष्टीकरण माग गरेकाले नै फिर्ता लिनुपर्ने अवस्था आएको बताए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४५ जना प्रदेश सभाका सदस्यले नेपाल पक्षका शाक्यलाई मुख्यमन्त्रीमा अघि सार्दै प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले साविकको नेकपालाई मान्यता नदिएर एमाले र नेकपा माओवादी केन्द्रका रुपमा रहने भएपछि अविश्वासको प्रस्ताव फिर्ता भएको थियो । एमाले प्रदेश सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल निकटका प्रदेश सभाका सदस्यहरू विभाजित हुनुका साथै पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !