७ बैशाख २०८१, शुक्रबार

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास


रसुवागढी नाका

काठमाडौं । रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।

यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ । उक्त फ्रेम एक पटक प्रयोगमा ल्याएपछि दोहो¥याएर प्रयोग गर्न नमिल्ने सिलिक ट्रान्सर्पोटका निर्देशक सोनाम वाङ्दी लामाले बताए । ‘एक महिनाअघिदेखि सामग्री हाल्ने फ्रेम निर्माण भएको सुनिएको छ,’ उनले भने, ‘यो प्रक्रिया लागु भयो भने नाका बन्द हुन्छ ।’ यो एक पटक प्रयोग गर्दा करिब ८ हजार ९ सय ९० आरएमबी तिर्नुपर्छ ।

कमिटीले चीनको केरुङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई उक्त प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएर पत्र पठाएको छ । यसले चिनियाँ पक्षलाई फाइदा हुन्छ र सुरक्षित पनि हुन्छ । तर नेपाली व्यवसायीले नाकाबाट हात झिक्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ को छाप तथा लेडरप्याड किर्ते गरेर कमिटी निर्माण गरिएको हो । नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति नदिएको वडाध्यक्ष दावा दोर्जे तामाङले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !