७ बैशाख २०८१, शुक्रबार

ओलीको निम्तो प्रचण्डद्वारा अस्वीकार : बालुवाटार होइन, सिंहदरबारमा भेटौं


प्रचण्ड र केपी ओली

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए ।

दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए ।

भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए । दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए ।

‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो । पुस ५ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच भेटघाट भएको छैन । उनीहरू एकअर्काबीच सार्वजनिक रुपमै गाली-गलौजमा उत्रिएका थिए ।

संसद् विघटनपछि ओली र दाहाल दुई ध्रुवमा बाँडिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए । तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र दाहाल पुरानै घरमा फर्कनुपरेको थियो ।

अहिले मुलुक कोरोना संक्रमणको जोखिममा रहेका बेला राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न भने पनि राजनीतिक दलका कार्यक्रम रोकिएका छैनन् । सरकार परिवर्तनको कसरत भइरहेको छ भने एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

नयाँ सत्ता समीकरणका बारेमा कांगेस–माओवादीबीच कुराकानी अघि बढेका बेलामा ओलीले दाहाल र देउवासँग कुराकानी गर्न चाहेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लैजान केही दिनअघि चुनौती दिएका प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको बहानामा नेताहरूसँग विशेष कुराकानी गर्न खोजेको स्रोतको दाबी छ ।

कर्णाली प्रदेशमा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई एमालेकै सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका छन् । केन्द्रमा पनि यस्तै अवस्था आउन सक्ने डरले ओली दाहालसँग नजिकिन खोजेका हुन् ।

‘सर्वदलीय बैठक बस्नुअघि ओलीले दाहाल र देउवासँग अलगअलग छलफल गरेर अघि बढ्न खोजेको देखिन्छ’, बालुवाटार निकट स्रोतले भन्यो । ओली एमालेभित्र माधव नेपाललाई कारबाही गरेर दाहालसँग नजिक हुने खोजिरहेको स्रोतको दाबी छ ।

‘अहिले माधव नेपाल पक्षलाई पार्टीभित्रको गेट बन्द गरेर माओवादीका नेताहरूसँग पनि बेग्लाबेग्लै कुराकानी गरिरहेका छन्’, स्रोतले भन्यो, ‘नेपाल पक्षका नेतासँग पनि संवाद चलिरहेको छ तर प्रगति भने हुन सकेको छैन ।’ यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !