८ बैशाख २०८१, शनिबार

दैनिक लगभग २० जना बालबालिकामा कोरोना संक्रमण : दुई सातामा २७१ जनामा देखियो


बालबालिकामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौंका ११ वर्षीय एक बालक अघिल्लो आइतबार शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । कान्ति ल्याउनुअघि निजी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।

कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता भएको थियो । उपचारकै क्रममा बालकको शनिबार मृत्यु भयो ।

कान्तिमा कोरोना संक्रमित तीन बालबालिकालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । उनीहरू सबैमा लक्षण देखिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा रहेका २६ जना संक्रमितमध्ये चार जना बालबालिका छन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा. प्रविन नेपालका अनुसार त्यहाँ भर्ना भएका सबैमा लक्षण छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् ।

त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना अर्थात् ७.९५ प्रतिशत छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चैत २६ मा संक्रमित देखिएमध्ये १५.३६ प्रतिशत बालबालिका थिए । त्यो दिन ३ सय ३३ जनालाई संक्रमण देखिएको थियो । संक्रमण पुष्टिमध्ये चैत २१ मा ८.८९, २२ मा ७.९७, २३ मा ६.०२, २४ मा १० प्रतिशत बालबालिका छन् ।

संक्रमित बालबालिकाको हिस्सा चैत २५ मा ८.३९ प्रतिशत रहेकामा चैत २६ मा बढेर १५.३६ प्रतिशत पुग्यो । यस्तै, चैत २७ मा ११.८० र चैत २८ मा संक्रमितमध्ये ८.३ प्रतिशत बालबालिका रहेको अधिकारीले बताए । आइतबार भने संक्रमित बालबालिकाको हिस्सा ५.९४ प्रतिशत छ ।

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको विशेषज्ञ बताउँछन् । नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।

ईडीसीडीका निर्देशक डा. पौडेलले आइतबार २–३ वर्षका बालबालिकामा समेत संक्रमण देखिएको बताए । संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरका छन् । उनका अनुसार चैत १२ देखि २९ सम्म संक्रमित बालबालिकामध्ये प्रदेश १ र २ मा १३–१३ र वाग्मतीमा १ सय ६६ जना छन् ।

गण्डकीमा ५५, लुम्बिनीमा १७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ जना बालबालिकालाई संक्रमण देखिएको छ । ईडीसीडीले कोरोना पोजिटिभ देखिएकाको नमुनालाई पुनः परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि ल्याउने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !