६ बैशाख २०८१, बिहिबार

नयाँ सत्ता समीकरणका लागि जसपालाई फकाउँदै कांग्रेस र माओवादी


तीन दलको बैठक

काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) लाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन । जसपा अनिर्णित हुँदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन भएको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपा सहितको संयुक्त बैठकमार्फत कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिएन । जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको हो ।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमती दिँदै आइरहेको छ । शुक्रबारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रूपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको जानकारी दिए । उनले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता महन्थ ठाकुरले जसपालाई पहिलोपटक नयाँ सरकारका लागि सहकार्यको प्रस्ताव आएको र आन्तरिक छलफलपछि निर्णय दिने जानकारी गराएको बताए ।

तीन दलीय बैठकमा जसपाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग संविधान संशोधन, जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइँदै आइरहेको झुटा मुद्दा खारेजी, नागरिकता समस्याको समाधान लगायतका मागबारे जानकारी गराएका थिए ।

सो प्रस्तावमा कांग्रेसले भने प्रधानमन्त्री ओलीले जसपाका मागमा गर्न सक्ने सम्बोधन कांग्रेसले पनि गर्न सक्ने भन्दै धेरै चिन्ता नलिन जवाफ दिएका थिए । देउवाले संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको दल एमालेभन्दा पहिलेबाट नै कांग्रेस बढी लचक रहँदै आएको समेत जसपालाई जवाफ दिएका छन् ।

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेता सहभागी थिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !