६ बैशाख २०८१, बिहिबार

काठमाडौंमा भूमाफिया यति शक्तिशाली : सयौं रोपनी सार्वजनिक जग्गा कब्जा


भूमाफिया

काठमाडौँ । नेपाल सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले हालै सरकारी/सार्वजनिक जग्गाको अवस्थाबारे अनुसन्धान गरेको थियो। त्यसक्रममा सयौं रोपनी सरकारी/सार्वजनिक जग्गामा भूमाफियाले भोगचलन र दर्तासमेत गरेको फेला परेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टले भूमाफियाहरूले सरकारी जग्गा हडपेको अनुसन्धानबाट देखिएको बताए । उनले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कामलाई जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ अगाडि बढाउने बताए ।

प्रतिवेदनले समेटेका जग्गामा बनाइएका संरचना स्थानीय तहसँगको समन्वयमा हटाइने उनले बताए । अतिक्रमित सरकारी/सार्वजनिक जग्गा कानुनअनुसार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, देवीनगर, भीमसेनगोला, बालुवाटार, डल्लु, वाग्मती र विष्णुमती नदी किनार, बालाजु, चाबहिल, सामाखुसी, टेकु, राधाकृष्ण देवस्थान, बाँसबारी, गोकर्णेश्वर, मूलपानी, भीमढुंगा, रामकोट, टोखा, धापासी, मण्डिखाटार, चपली, बूढानिलकण्ठ, थानकोट, शंखरापुरको सुनटोलमा रहेको सयौं रोपनी सरकारी/सार्वजनिक जग्गा हडपेका छन् ।

बालुवाटारस्थित करिब ३ रोपनी सरकारी जग्गा पनि विभिन्न व्यक्तिले अतिक्रमण गरी घरटहरा बनाएको प्रतिवेदनमा उल्लेख छ। डल्लुमा राजकुलो अतिक्रमण गरी घरटहरा निर्माण गरी हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको अनुसन्धानले देखाएको छ ।

सरकारको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका–१०, वाग्मती नदी क्षेत्रको कित्ता नम्बर ४३९ र कित्ता नम्बर ४४१ को जग्गा पनि भूमाफियाले अतिक्रमण गरेका छन्। बालाजुमा पनि करिब ३ रोपनी सरकारी जग्गा अतिक्रमण गरिएको छ। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !