१२ बैशाख २०८१, बुधबार

ताजा जनादेशका लागि तयार रहन ईश्वर पोखरेलको आग्रह


ईश्वर पोखरेल

पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।”

प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गर्नुभयो । उहाँले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि पार्टीबीचको एकता र पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिनेपनि जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !