७ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको योजना : प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने नीति अनुरुप जनता समाजवादी पार्टीसँग सत्ता साझेदारका लागि वार्ता टोली गठन गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र फरक-फरक दल भएको फैसला गरेसँगै संसद्मा विश्वासको मत लिनका लागि एमालेले जसपासँग सहकार्य गर्न कार्यदल गठन गरेको हो । एमालेले विश्वासको मत लिन अब अर्को दलको समर्थन लिनुपर्नेछ ।

एमालेसँग हाल १२१ जना सांसद रहेका छन् । बहुमत पुर्याउन २७५ जना प्रतिनिधिसभामा १३८ जना सांसद चाहिन्छ । एमालेले जनता समाजवादी पार्टीलाई मात्र विश्वासमा ल्याए सहजै बहुमत पुग्नेछ । हाल जसपासँग ३४ जना सांसद रहेका छन् । जसमध्ये २ जना सांसद निलम्बित छन् । जसपाले सत्ता साझेदारीका लागि जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलाई पहिलो सर्त बनाउने भएको छ । सरकारले चौधरीलाई रिहा गर्न तयार भए बाँकी सत्ता सहकार्य गरेर अगाडि बढ्ने बताएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुभन्दा जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने नीति बनाएको बताइएको छ । तर जसपाभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीसँग सत्ता सहकार्य नगर्ने पक्षमा रहेका छन् ।जसपाका अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य गर्नका लागि कार्यदल गठन गर्न सहमत भएसँगै पार्टी दुई धारमा विभाजित भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका १८ र राष्ट्रिय जनता पार्टी नेपालका १६ सांसद गरी हाल ३४ जना सांसद रहेका छन् । पार्टीभित्रको विवाद बढ्दै गएको अवस्थामा राजपालाई पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा चालीस प्रतिशत संख्या पुग्छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले अडान लिए पनि पार्टी विभाजन गरेर राजपा विभाजित भए १६ जना सांसद हुनेछ । जुन संख्या ओली सरकारलाई बहुमत पु¥याउन पर्याप्त हुन्छ ।

त्यसै गरी नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोलीमा एमालेको तर्फबाट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनुभएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल शुरु भएको छ ।

यसअघि फागुन २३ गते जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । तर, महन्तले यसअघि कार्यदल गठनको बारेमा कुनै जानकारी गराउनुभएको थिएन । मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष ठाकुरले सत्ता साझेदारका लागि कार्यदल गठन गरिएको जानकारी गराउनुभएको थियो ।

रेशम चौधरीको रिहाइ आफ्नो पार्टीको मुख्य एजेन्डा भएको बताउँदै अध्यक्ष ठाकुरले सहकार्य गरेर अगाडि बढ्नुपर्ने विषयमा आफ्नो धारणा राखेको एक नेताले बताए । जसपामा सत्ता साझेदारको लागि अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरु गृहकार्यमा लागेका छन् ।समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बने पनि अहिले पनि यी दुई दलको संसदीय दलका नेता फरक–फरक रहेका छन् । केपी शर्मा ओलीलाई बहुमत पु¥याउन जसपाले साथ दिए पुग्ने देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !