१२ बैशाख २०८१, बुधबार

नेकपा विवादः गुटगत भेलामै व्यस्त शीर्ष नेता अब के गर्लान ओली ?


नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो । विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन् । केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडांैमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद ९जबज० को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए ।

काठमाडांैको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

यता दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन् । दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ । थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन् ।राजधानी दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !