११ बैशाख २०८१, मंगलबार

मुठभेडकै मुडमा ओली-प्रचण्ड : अब बीच वान टु वान वार्ता नहुने


ओली-प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङ अनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन ।

‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वास पात्र जो छ, उहाँ मार्फत् आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ प्रचण्डले भनेका थिए, ‘ओलीजीको बुहार्तन धेरै भयो, पार्टी कमिटीबाटै निर्णय गरेर जाऔँ ।’

अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ तर उनीहरुसमेत अध्यक्षद्वयलाई मिलाउन सक्रिय छैनन् । बरु दुवै पक्ष तल्ला कमिटीसम्म आफ्नो कुरा राख्न उद्यत छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरुको पनि गोप्य र खुलमखुला भेला भइरहेका छन् ।

यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिक रुपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरु पुगेको देखिन्छ ।

स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीको जिम्मेवारी खुम्च्याउने र उक्त निर्णयलाई केन्द्रीय कमिटीमा पेस गर्ने तयारी दाहाल–नेपाल पक्षको छ । शुक्रबार साँझसम्मको घटनाक्रमअनुसार यो पक्षले स्वैच्छिक जिम्मेवारी त्यागका लागि ओलीलाई मौका दिने र प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एउटा पदबाट राजीनामा गर्न लगाउने पहिलो विकल्प तयार पारेको छ तर ओलीले यसलाई सजिलै स्वीकार गर्ने देखिँदैन ।

उनले यसअघि नै बारम्बार पार्टी महाधिवेशनबाट अध्यक्ष र आगामी संसदीय निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अहिले दुवैतिरबाट राजीनामा नगर्ने स्पष्ट पारिसकेका छन् । एका थरीले छाड्दै छाड्दिनँ र अर्का थरीले नछाडी हुन्न भन्दा विवाद समाधानका लागि स्थायी कमिटी सदस्यहरूको विवेकले नै काम गर्छ । त्यसैले पनि ओली र दाहालले आआफ्ना

पक्षका नेताहरूलाई छुट्टाछुट्टै भेटेर पक्षधरताका लागि स्पष्ट मानसिकता बनाएर तयार हुन निर्देशन गरेका छन् तर पाउनका लागि आफूहरूसँग बहुमत र गुमाउन केही पनि नभएकाले दाहाल–नेपाल पक्षधर नेताहरू अघिल्ला विवादमा भन्दा यसपालि बढी आक्रामक देखिन्छन् ।

यसअघि नै गरिएको हस्ताक्षर अभियानमा पनि केही नेता दुवैतिर सहभागी भएकाले संसदीय दलमा आफ्नो बहुमत पुग्छ भन्ने आत्मविश्वास दुवैतिर देखिँदैन तर अब वार कि पार नै हुन्छ भन्नेमा नेकपाको यो दुवै समूह स्पष्ट देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !