नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा Nepalpatra नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा
१२ माघ २०७७, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा


चन्द्रप्रसाद ढकाल

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा सामान्य किसान परिवारमा जन्मिएका उनले अहिलेको यो सफलताका लागि पनि निकै आरोह अवरोह पार गर्नुपरेको थियो ।

उनको बाल्यकाल निकै पीडादायी र दुःखद थियो । बाल्यकालमै बाबुको मृत्यु भएपछि आमा र भाइबहिनीलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता उनमा थपिएको थियो । १६ वर्षमै आफ्नो खुसीमाथि पारिवारिक ग्रहण लागेपछि उनले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिबद्वताकै बलमा जिन्दगीमा पूर्णमास ल्याए ।

सोही बेलादेखि निरन्तर सफलताको शिखरतर्फ अघि बढेका उनले आफूलाई नेपालको सफल व्यवसायीको सूचीमा पार्न निकै मेहनत गरेका थिए । जीवनमा सोचेजस्तो केही नहुँदो रहेछ भन्ने बुझेका ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएपछि भने, ‘योजनाबद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भने चाहिँ नसोचिएको सफलता पनि हात लाग्दो रहेछ ।’

महासंघको वरिष्ठ उपाध्यक्ष जित्नका लागि मिलेको यो सफलतासँगै अहिले आईएमई ग्रुपको अध्यक्षको जिम्मेवारीसहित काठमाडौं पानीपोखरीस्थित आफ्नो कार्यालयमा व्यस्त दैनिकी गुजारिरहेका ढकालले जीवनमा योजनाबद्ध सोच र आँटका साथ निरन्तर मेहनत गरिरहे । अहिले मुलुककै प्रतिष्ठित व्यावसायिक घरानाका रूपमा परिचित ढकालको केही साइनो अधिकांश नेपालीका घरपरिवारसँग पनि जोडिएको छ । त्यो साइनो हो आईएमई रेमिट्यान्स । हाल उनको यस रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।

आईएमई ग्रुपका संस्थापक अध्यक्ष ढकाल नेउवा महासंघमा सदस्य, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । आइतबारदेखि नेतृत्व सम्हालेका शेखर गोल्छापछि आगामी २०औं अध्यक्ष ढकाल नै हुनेछन् ।

निरन्तर सफलताको शिखर चुमिरहेका ढकाल बैंकिङ, अटोमोबाइल्स र होटल एवं पर्यटन व्यवसाय, चन्द्रागिरी हिल्स लिमिटेडलगायत विभिन्न कम्पनी चलाउँदै देशको उद्योग वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि लबिङ पनि गर्दै आएका सफल व्यवसायी हुन् ।राजधानी दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !