११ बैशाख २०८१, मंगलबार

भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री किन आउदैछन् नेपाल ?


चिनियाँ रक्षामन्त्री

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनका प्रतिनिधिले मंसिरको दोस्रो साता नेपाल भ्रमणको तयारी गरेका छन् । पछिल्लो समय सीमा विवादका कारण बिग्रेको सम्बन्ध सुधारका लागि ११ मंसिरदेखि भारतका विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने भ्रमणको तयारी भइरहेको छ ।

भारतीय विदेश सचिवको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री तथा पहिलो नम्बरमा रहेका स्टेट काउन्सिलर चिनियाँ वेई फेङ्हे १२ घण्टे भ्रमण गर्न नेपाल आउने भएका छन् । उनी १४ मंसिरमा नेपाल आउने तयारीमा छन् ।

यद्यपि, चिनियाँ रक्षामन्त्रीको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले भने अहिलेसम्म केही बताएका छैनन् । भारतका विदेश सचिव नेपाल आउने मिति तय भएलगत्तै चिनियाँ पक्षले चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री १२ घण्टे नेपाल भ्रमणमा आउन लागेको स्रोतले जानकारी दियो । चिनियाँ रक्षामन्त्रीको भ्रमण चिनियाँ राजदूतले तिहारको भोलिपल्ट प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेसँगै तय भएको हो । हाल रक्षामन्त्री पनि प्रधानमन्त्री ओलीले सम्हालेका कारण उनैले भ्रमणको निमन्त्रणा दिएका हुन् ।

१९ कात्तिकदेखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलगत्तै शृंगला नेपाल आउने भएका हुन् । भारतीय सेना प्रमुख जनरल नरवणेले भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उनले भारत र नेपालको लामो समयदेखि विशेष सम्बन्ध रहेकाले दुई देशले वार्ताबाट सबै समस्या समाधान गर्न सक्ने कुरामा जोड दिएका थिए ।

उनले परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरूसँग आफ्नो दुई दिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् । यसअघि भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल आकस्मिक रूपमा नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्केका थिए ।

नेपालमा शृंगलाको भेट वार्ताले दुवै पक्षलाई संयुक्त प्राविधिक स्तरको सीमा समितिको बैठकको कार्यतालिका अन्त्य गर्न नेतृत्व दिनेछ । दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत् आयोजनाहरूको पुनरुद्धारमा छलफल गर्ने आजको राजधानी दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !