७ बैशाख २०८१, शुक्रबार

ओलीले नटेरेपछि प्रचण्डले फेरि थपे समय


ओली-प्रचण्ड फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर, ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन् ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने एजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुन्छ । अहिले ओली र दाहाल दुवै एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् ।

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा यस्तो स्थिति सिर्जना भएको हो । पछिल्लो समय ओली सचिवालय बैठक बोलाउन लचिलो भए पनि उनले मिति तोक्न सकेका छैनन् ।

दाहालले शनिबार दिएको समयसीमाभित्र ओलीले सचिवालय बैठक नबोलाएपछि मंगलबार फेरि भेटेर बिहीबार बैठक बोलाउन प्रस्ताव गरेका हुन् । ओली भने दाहालको प्रस्तावमा सहमत हुन सकेका छैनन् । त्यसैलै दुवै पक्ष बिहीबार बैठक बस्छ भन्नेमा निश्चित छैनन् ।

ओलीले बैठकका लागि सल्लाह गर्नुपर्ने बताएपछि दाहाल दोधारमा परेका छन्। ओली पनि दाहाल एक्लैले बैठक डाक्न सक्छन् कि सक्दैनन् भनेर अनुमान गरिहाल्न सक्ने अवस्थामा छैनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !