७ बैशाख २०८१, शुक्रबार

नगद रित्तिएकोले सुरुमै ऋण, राजस्व कम उठेकाले नगद व्यवस्थापनमा दवाव


ऋण

काठमाडौँ, असोज २५ । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ । राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ । गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो।

भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो । तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो । असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ ।

आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो । निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ । यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ । गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ ।

एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भएपछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ । राजस्व भने औषतमा २ अर्ब मात्र छ ।

गत वर्ष असोजमा पनि चालु खर्च मात्र ९७ अर्ब रुपैयाँ भएको थियो । सरकारले दसैंभन्दा १५ दिन अघिदेखि तलव र दसैं खर्च वितरण गर्न सुरु गर्छ। अहिले मन्त्रालय र कार्यालयहरुले दैनिक तलब र भत्ता वितरण गरिरहेका छन् । त्यसैले असोजको बाँकी रहेका ७ दिनमा २५ देखि ३० अर्ब रुपैयाँ थप खर्च लाग्ने अनुमान अर्थ मन्त्रालयका अधिकारीहरुको छ ।

उनीहरुका अनुसार असोज मसान्तसम्म चालु र अन्य गरी सरकारको कुल खर्च २ खर्बभन्दा माथि पुग्नेछ । यो अवधिमा राजस्व एक खर्ब ८० अर्ब संकलन भए सरकारलाई करिव २० देखि २५ अर्ब रुपैयाँ नगद अपुग हुने देखिन्छ ।

अघिल्ला वर्षहरुमा भने असोजअन्तमा पनि सरकार सजिलो अवस्थामा हुन्थ्यो । गत वर्ष असोजसम्म राजस्वसहितको सरकारको आम्दानी २ खर्ब एक अर्ब रुपैयाँ थियो । असोजसम्म कुल खर्च एक खर्ब ७८ अर्ब रुपैयाँ भएकाले सरकार २३ अर्ब रुपैयाँ बचतमा थियो । यो वर्षको अवस्था भने यसको ठीक विपरित हुने देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !