११ बैशाख २०८१, मंगलबार

दाङमा खुसियाली, बुटवलमा विरोध : प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ हुने


प्रदेश ५ सरकार

दाङ, असोज १७ । प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी सदरमुकाम दाङ देउखुरीको भालुवाङ क्षेत्रमा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्ने निर्णय गर्दै त्यस सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको मन्त्री केसीले बताए ।

नेकपाको उच्च नेतृत्व तहमा नै छलफल भई प्रदेश ५ को सदरमुकाम दाङमा राख्ने र नामकरण लुम्बिनी गर्ने सहमति भएकाले अब प्रदेशसभाले पनि सोहीअनुसार निर्णय गर्ने जनाइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो निर्णय गराउन उच्च तहको नेतृत्वलाई सहमत गराएका थिए ।

दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएलगत्तै मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङमा निकै खुसियाली छाएको छ । उता यो निर्णयसँगै बुटबल क्षेत्रमा भने विरोध सुरु भएको छ । राजधानी सम्बन्धी प्रस्ताव पेस भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू रमा अर्याल, फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाएका छन्

जनअपेक्षा अनुसार दाङ राजधानी बन्ने लगभग पक्कापक्की भएपछि दाङवासीहरू उत्साहित भएका हुन् । मुख्यमन्त्री पोख्रेलले ‘मुख्यमन्त्रीसँग राजधानी साटेको’ भनेर गलत प्रचारबाजी भइरहेका बेला दाङका लागि खुसीको कुरा बाहिर आएको प्रदेश सभासद् अमरबहादुर डाँगीले बताए ।

भौगोलिक वातावरण, सुरक्षाको दृष्टिकोणसँगै सबैलाई पायक पर्ने क्षेत्र भएकाले उपयुक्त भएर नै दाङलाई रोजिएको सांसद डाँगीले बताए । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घखाँचीको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको करिब ३४ बिघा क्षेत्रफलको भागलाई समेटेर दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरिएको डाँगीले बताए ।

सिफारिस समितिले प्रस्ताव गरेभन्दा फरक किसिमले प्रदेशको राजधानी फरक ठाउँ र कार्यसूचीमा नभएको प्रस्ताव पेस गरिएको भन्दै प्रदेशसभाका केही सदस्यहरूले आपत्ति जनाएका थिए । राजधानीसम्बन्धी प्रस्ताव पेस भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू रमा अर्याल, फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाएका छन् ।

प्रदेशसभा बैठक १९ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक तथा रूपन्देहीका सांसद भूमिश्वर ढकालले पार्टीको निर्णय मान्नुपर्ने बताए । प्रदेशसभाका विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले राजधानी र नामकरणको प्रस्ताव हचुवाका भरमा आएकाले आफूहरूलाई यो प्रस्ताव मान्य नभएको बताए ।

नेकपा सांसद भोजप्रसाद श्रेष्ठले सरकारले विशेष समितिले तय गरेको रायभन्दा बाहिरबाट प्रस्ताव आएको बताए । उनले राजधानी र नामकरणको प्रस्तावका बारेमा दलको बैठकमा विशेष छलफल हुने बताए । जनता समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले सरकारले गलत नियत राखेर प्रस्ताव ल्याएको भन्दै विरोध जनाए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाश आचार्य र ओपेन्द्र बस्नेतले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !