७ बैशाख २०८१, शुक्रबार

‘महामारीमा पनि ओली सरकार भ्रष्टाचारमा लिप्त’


केपी ओली

काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।

नेताहरूले बिपी कोइरालाको विचार र उनले देखाएको बाटोअनुसारै संविधानसभाबाट नयाँ संविधान जारी भएको जिकिर गरे। नयाँ संविधान बिपी विचारको निचोड भएको बताउँदै त्यसको संरक्षण र कार्यान्वयनमा कांग्रेसले ध्यान दिनुपर्नेमा नेताहरूले जोड दिए।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण निकै धेरै फैलिए पनि सरकारले आवश्यक तयारी गर्नुको साटो पैसा कमाउनतिर मात्र ध्यान दिएको आरोप लगाए। ‘यो सरकारले कोरोना रोकथामका लागि कुनै कामै गर्न सकेको छैन,’ उनले भने, ‘कोरोनाका नाममा पैसा उठाउने, कमाउने, भ्रष्टाचार गर्नेबाहेक सरकाले केही गर्न सकेन।’

ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको धारणा राख्दै देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको कांग्रेसले फेरि एकपटक कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउन लागेको उल्लेख गर्दै तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएको आजको नागरिक दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !