७ बैशाख २०८१, शुक्रबार

गाडीबाट कोरोना फैलिने त्रास


कोरोना भाइरस

भद्रपुर, २६ चैत । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् । हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् । उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर नेपाल आएका हुन् । भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टाइन बसिरहेका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले मङ्गलवार एकै दिन ११४ वटा मालवाहक गाडी भित्रिएको स्वीकार गर्नुभयो । आयातित ट्रकहरुले सामानको कागजपत्र भन्सारमा नबुझाइसकेको हुँदा के सामान बोकेको र कहाँ लैजाने भन्ने थाहा हुन बाँकी भएको भन्सार प्रमुखको भनाइ छ ।मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलाले कोरोनाको उच्च जोखिमका बेला भारतीय गाडी भित्रयाउनु चिन्ताजनक विषय भएको बताउँदै यसरी मालसामान र गाडी भित्राउने कार्य रोकिनुपर्ने माग गर्नुभयो । उहाँले भित्रिसकेका गाडीलाई भन्सारभित्रै लक गरेर राख्न र त्यसका चालक दललाई १४ दिनसम्म क्वारेन्टाइनमा पठाउन माग गर्नुभएको छ ।

होटल व्यवसायी क्षेत्रीय संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङले पनि भारतबाट लगातार गाडीहरु भित्रिएकोमा आपत्ति व्यक्त गर्नुभएको छ । उहाँले यसलाई नरोके कोरोना भित्रिने डर बढेको बताउनुभयो । दुई दिन अघि मेचीनगर–१५ ज्यामिरगढी पुगेका भारतीय ३ वटा गाडीलाई स्थानीय युवाले रोकेपछि प्रहरीेले बाध्य भएर सुरक्षासहित फर्काएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले माथिबाट आदेश नआएसम्म भन्सार बन्द गर्न नसकिने बताउनुभयो । ‘भन्सारबाट आयात निर्यात रोक्ने कुनै निर्देशन आएको छैन,’ उहाँ भन्नुह्न्छ–‘कोलकाता बन्दरगाहमा एक महिनादेखि रोकिएका धेरैजसो सामान अहिले धमाधम आउन थालेका छन्, भारत र नेपाल कसैले पनि भन्सारमा सामान रोक्न मिल्दैन ।’

तर भारतबाट आएका गाडीहरुलाई आउनासाथ निसङ्क्रमणका लागि कोरोना भाइरसविरुद्धको स्प्रे गरिने र चालक दललाई ज्वरो नापिने गरेको उहाँले जानकारी दिनुभयो । गाडीहरु चाहिँ अत्यावश्यक सामान रहेछ भने गन्तब्यसम्म जान दिइएको उहाँले बताउनुभयो । चालक दललाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने विषयमा प्रशासनसँग छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !