१३ बैशाख २०८१, बिहिबार

‘महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन’


काठमाडौँ, २१ चैत । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केन्द्रीय सदस्यले जनाएका छन् । महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईँ, टेकराज थामी, द्वारिका काफ्ले, सटेन्द्र जबेगू, श्वेता सिन्हा, छेटू शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली र कृष्ण गिरीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा गर्विलो इतिहास बोकेको साझा संस्था महासंघ जस्तो गरिमामय संस्थाका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तिले सिर्जित घटनाबाट आफूहरु दुःखित भएको उल्लेख छ ।

“कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौंँ प्रेस’को वेबसाइट ह्याक गरी समाचार सामग्री हटाउने कार्य निन्दनीय छ, दोषीविरुद्ध कानूनी कारबाही हुनुपर्नेमा हामी दृढ छौंँ”, विज्ञप्तिमा भनिएको छ,“ सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चारगृहलाई अभिभावकीय भूमिका निभाउनुपर्ने महासंघले कोरोना भाइरसबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरी पुष्टि नभएका व्यक्ति र विषय जोडेर निकालेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत हो ।”

वर्तमान विषम परिस्थितिमा महासंघजस्तो साझा र भरोसायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडोभन्दा चाँडो सल्लाहकारसहितको केन्द्रीय समितिको बैठक बोलाई उठेका विषयमा गम्भीर बहस गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

यस्तो दुःखद् परिस्थितिमा समेत जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई झकझकाउनुपर्ने र दवावमूलक कार्यक्रमलाई थप निरन्तरता दिनुपर्ने, लोककल्याणकारी विज्ञापन बढाउनुपर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयनमा लैजानुपर्ने जस्ता काम महासङ्घले गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ‘पत्रपत्रिका तथा अनलाइनमाथि स्थानीय तहले लगाएको कर र प्रेस स्वतन्त्रता विरोधी कानूनमा सजग हुँदै पत्रकारका विषयमा बहस र छलफल गर्न देशव्यापी अभियान थाल्न पर्नुका साथै पत्रकारका क्षमता अभिवृद्धि गराउने जस्ता दायित्व बिर्सेर’ विवादित मोडमा जानु महासंघको स्वभावलाई सुहाउने विषय नभएको जनाइएको छ ।

“जुनसकै पक्षबाट भए पनि प्रेस स्वतन्त्रता विरोधी हर्कतको खुलेर विरोध मात्र होइन, त्यस्ता गतिविधि रोकी महासंघको गर्विलो इतिहास बचाउन हामी सधैँ अग्रमोर्चामा उभिने छौँ”, विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !