७ बैशाख २०८१, शुक्रबार

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार


डोटी, २१ चैत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट रोक्न यहाँको स्थानीय सरकारले भारतका विभिन्न शहरबाट जिल्ला फर्किएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । सोही बमोजिम नै जिल्लाका नौवटै स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा अहिले भारतबाट आएकाहरुको घुइँचो लागेको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको दैनिक स्वास्थ्य जाँच, खानपिन र अन्य अत्यावश्यकीय व्यवस्था पनि मिलाइएको छ । तर ती व्यक्तिहरुको स्वास्थ्य जाँचमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण भने नदेखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयकाअनुसार जिल्लाका नौवटै स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा भारतमा रोजगारीबाट आएका ३११ जनालाई राखिएको छ ।

जसमा पुरुष २५८, महिला २८ र बालबालिका २५ रहेका छन् । त्यसैगरी एक महिना यतादेखि भारतबाट जिल्ला भित्रिएकाहरुको पनि लगत सङ्कलन गरी उनीहरुलाई पनि सुरक्षित ‘होम क्वारेन्टाइन’ मा राखिने तयारी भइरहेको छ । कतिपय भारतबाट फर्किएको भनी आफै सार्वजनिक भएकाहरु प्नि कोही यस्तै क्वारेन्टाइनमा आएका छन् भने कतिले आफ्नै घरमा ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् ।

यसैक्रममा जिल्लाको शिखर नगरपालिकाले भारतबाट आएका ७२ जनालाई क्वारेन्टाइनमा राखेको छ । उनीहरुका लागि नगरपालिकाले ४ वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्था पनि गरेको छ । नगरपालिकाको वडा नं २ र ३ मा घर भएका १९ जनालाई अमरज्योती आधारभूत विद्यालय आलीमा राखिएको छ । त्यस्तै ४, ५ र ६ मा घर भएका २७ जनालाई पञ्चोदया आधारभूत विद्यालय, धुरकोटमा राखिएको छ भने वडा नं. ७ र ९ मा घर भएका १५ जनालाई मष्टा आधारभूत विद्यालय, बोरागाउँमा राखिएको छ । त्यस्तै वडा नं १० र ११ मा घर भएका ११ जनालाई शिद्धेश्वर माध्यमिक विद्यालय, बानीडुग्रीसैनमा राखिएको नगर स्वास्थ्य प्रमुख हरिष शाहले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि खाद्यान्न, मास्क, बेडलगायतको व्यवस्था गरिएको नगरप्रमुख सीताराम जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरका २२ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको छ । भारतका विभिन्न शहरमा काम गरेर दिपायल पुगेका उनीहरुलाई वडा नं ४ दिपायल राजपुरमा रहेको सेती सभाहलमा राखिएको हो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि खाद्यान्न, मास्क, बेड लगायतको व्यवस्था सहित सुरक्षित रुपमा राखिएको सो वडाका अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिनुभयो । आदर्श गाउँपालिकाले भारतबाट फर्किएका ६७ जनालाई क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले वडा नं २ मौवामा अवस्थित सारदा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरी उनीहरुलाइ मौवामा व्यवस्थापन गरेको हो ।

त्यस्तै वडा नं. २ बावनकाँडाका ५ जना सेल्फ क्वारन्टाइनमा बसेका छन् । उनीहरु गाउँ नजिकैको नवादेव आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका छन् । तीन जना भारत र दुई जना काठमाडौँबाट गाउँ फर्किएका व्यक्ति भने आफै सेल्फ क्वारेन्टाइनमा बसेको गाउँपालिकाका स्वास्थ्य प्रमुख बम खड्काले जानकारी दिनुभयो । काठमाडौँबाट गाउँ आएका व्यक्तिहरु पनि आफै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उता के आइ सिंह गाउँपालिकाले पनि भारतबाट आएका ११ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको जनाएको छ । भारतबाट कैलाली हुँदै दिपायल पुगेर गाउँपालिका जान लागेका उनीहरुलाई राजपुरस्थित सेती सभाहलमा निर्मित क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि रासन, लत्ताकपडा, साबुन, भाँडावर्तनजस्ता आवश्यकताका साधनको व्यवस्था पनि गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म निगरानीमा राखेर स्वास्थ्य जाँच गरिने र समस्या देखिए उपचारका लागि अन्यत्र पठाउने व्यवस्था मिलाइएको छ । त्यसैगरी सायल गाउँपालिकाले पनि भारतबाट आएका पाँच जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले वडा नं ३ तोलेनीको कार्यालयमा क्वारेन्टाइनको व्यवस्था गरी राखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । छिमेकी जिल्ला बझाङ्गको सिर्मा हुँदै अरुपनि स्थानीय गाउँपालिका भित्रिने सम्भावना भएकाले सम्बन्धित सबै वडा कार्यालयहरुमा क्वारेन्टाइनको व्यवस्था गरिएको अध्यक्ष डुम्रेलले बताउनुभयो ।

यसैगरी जिल्लाको कैलालीसँग सिमाना जोडिएको बडीकेदार गाउँपालिकामा भारतबाट आएका ३५ जना स्थानीयलाई सुरक्षित क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउँपालिकाको वडा नं १ बिपी नगरमा रहेको केदारज्योतीकुञ्ज बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र त्यहाँ १ जना जोरायल गाउँपालिका, चार जना कैलालीको महोन्याल गाउँपालिका र ३० जना बडीकेदार गाउँपालिकाका रहेको सो गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनमा राखिएका सबैको नियमित स्वास्थ्य जाँच भइरहेको बताउँदै अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो देखिएको बताउनुभयो । बिपी नगरमा भारतबाट आएका ५१ जनामध्ये १६ जना बडीकेदार गाउँपालिकाका भएकाले गाउँपालिका भवन खड्यौलीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बिपी नगरका प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिनुभयो ।

जिल्लाकै पूर्वीचौकी गाउँपालिमा भारतबाट आएका दुई जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ । वडा नं. ३ गैरागाउँका एक जनालाई सानागाउँमा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ भने एक जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । महिलाहरु तथा जसको घरमा कोही छैन उनीहरुलाई घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले यसरी राखिएकाहरुको निगरानी राख्ने र समय समयमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उता जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले भारतबाट आएका आफ्नो गाउँपालिकाका १०३ जनालाई सुरक्षित क्वारेन्टाइनमा राखेको जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा भारत गएकाहरु बढी सङ्ख्यामा घर आएकाले सबैभन्दा बढी क्वारेन्टाइनमा पनि उक्त गाउँपालिकामा नै निर्माण गरी राखिएको हो ।

गाउँ पालिकाको वडा नं २ केदार आँखडामा पर्ने नवप्रतिभा आधारभूत विद्यालयमा १५ जना, केदारअखडा माध्यमिक विद्यालयमा २० जना र कृष्णधौतडी आधारभूत विद्यालयमा १७ जनालाई राखिएको छ । त्यसैगरी वडा नं ३ कानाचौर जुगुनेको खाली घरमा ४ जना, वडा नं. ३ कै बडिगाउँको खाली घरमा ३ जनालाई राखिएको छ भने एक जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै ४४ जनालाई वडा नं. ६ खत्याडीमा रहेको खत्याडी माध्यमिक विद्यालय र छिणखान माध्यमिक विद्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।

क्वारेण्टाइनमा बस्ने सबैको खाने, बस्ने, औषधि उपचार गाउँपालिकाले नै व्यहोर्ने गरी कम्तिमा १४ दिन निगरानिमा राखिने उहाँले जानकारी दिनुभयो । यसका साथै भारत तथा अन्य मुलुकबाट जिल्लामा आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न पनि सबै स्थानीय तहले आग्रह गरेका छन् । जिल्ला बाहिरबाट आएकाहरुलाई परिवारभन्दा अलग्गै बस्न आग्रहसमेत गरिएको हो ।

कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोकथाम गर्न यहाँका स्थानीय तहहरुले उच्च सतर्कता अपनाउदै धमाधम क्वारेन्टाइन निर्माण गरेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

त्यस्तै यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेक्स पनि स्थापना गरिसकेका छन् । त्यसैगरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न जिल्लाका दुईवटा गाउँपालिकाले विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेका छन् । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले रु ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष खडा गरेका छन् । भारतबाट आएकाहरु राख्नका लागि जिल्लाको दिपायल सिलगढी, शिखर नगरपालिका एवं सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल तथा केआइसिंह गाउँपालिकामा क्वारेन्टाइन र आइशोलेसन कक्ष निर्माण भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहमा भारतमा काम गरेर फर्किनेहरु बढी भएकाले उनीहरुलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीसहितको क्वारेन्टाइन र आइशोलेसन कक्ष स्थापना भएका छन्, भारतबाट आएका सबैले अनिर्वाय क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !