७ बैशाख २०८१, शुक्रबार

पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयकः केही सांसदको आपत्ति


भदौ २२, काठमाडौं । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ ।

समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई पनि मर्यादा कायम गरी न्यूनतम् सुविधा दिनुपर्ने धारणा राखे ।

अर्का सांसद गंगालाल तुलाधरले विधेयक पारित गर्न हतार गर्न नहुने भन्दै विज्ञ र सम्बन्धित पक्षसँग छलफल गरी विधेयकमाथि घनिभूत छलफल गर्नुपर्ने धारणा राखे । तर, समितिकै अर्का सदस्यद्वय प्रेम सुवाल र मीना पुनले विधेयकप्रति आपत्ति जनाए । जनताका समस्यालाई त्यत्तिकै छाडेर पदमा पुग्नेबित्तिकै राज्यले पाल्नुपर्ने विधेयकमाथि छलफल गर्नु नै अनुचित भएको टिप्पणी उनीहरुको छ ।

बैठकको सुरुमा गृहमन्त्री जनार्दन शर्माले पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकबारे जानकारी गराएका थिए । विधेयकमाथि थप छलफल अर्को बैठकमा हुनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !