१२ बैशाख २०८१, बुधबार

राजपा महामन्त्री जंगीलाल राय एमाले प्रवेश गर्दै सर्लाहीका ४ स्थानीय तहमा रायका कार्यकर्ताले पाए एमालेको टिकट


भाद्र २२, काठमाडौँ | राष्ट्रिय जनता पार्टीका महामन्त्री तथा सांसद जंगीलाल राय नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सर्लाहीका स्थानीय तहको टिकट वितरणमा राजेन्द्र महतो र महिन्द्र राय यादव हावी भएको भन्दै महामन्त्रीबाट राजिनामा दिएका राय एमाले प्रवेशको निर्णयमा पुगेका हुन् । सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रायले आफ्नो क्षेत्रभित्र पर्ने कविलासी नगरपालिका सहित बिष्णु गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा आफूले भनेका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर उनका मान्छेले टिकट नपाएपछि रायले महामन्त्रीबाट राजिनामा दिए ।

यसैबीच कबिलासी नगरपालिका सहित बिष्णु, ब्रम्हपुरी र चक्रघट्टा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहितका अधिकांश उम्मेदवार एमालेले जंगीलालकै कार्यकर्तालाई बनाएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् । ‘मेरा कार्यकर्ता जताबाट उठ्छन् उनीहरुलाई नै मेरो समर्थन हो,’ रायले भने, ‘अहिले त चुनावमै छु, सायद चाँडै एमाले प्रवेश गर्छु’ । सर्लाहीका एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सांसद जंगीलाल राय एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । उनले भने, ‘हामीले चारओटा स्थानीय तहमा उहाँले भनेकै साथीहरुलाई उम्मेवार बनाएका छौं । अहिले एमालेका उम्मेदवार जिताउन लाग्नुभएको छ । चाँडै एक कार्यक्रमबाट पार्टी प्रवेश हुनेछ ।’

आउने साता मलंगवा वा अन्य कुनै ठाउँमा चुनावी सभा गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा राय एमाले प्रवेश गर्ने पन्तले बताए । उनले रायको एमाले प्रवेशसँगै सर्लाहीमा कम्तिमा १० स्थानीय तह एमालेले जित्ने निश्चित भएको दावी गरे । राय २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट सांसद निर्वाचित भएका थिए । सर्लाहीका ६ क्षेत्रमध्ये तमलोपाले जितेको उनको क्षेत्रमात्र हो । तर टिकट वितरण गर्दा तमलोपाका कार्यकर्तालाई अन्याय गरेर राजेन्द्र महतोले सदभावना र महिन्द्र यादवले तमसपाका कार्यकर्ता अघि बढाएको उनले बताए ।

उनले भने, ‘राजपा अब पार्टीको रुपमा रहेन । मधेश आन्दोलनको नाममा ब्याज खान खोज्नेहरुलाई मधेशी जनताले सबक सिकाउँछन् । मैले मेरा कार्यकर्ताको संरक्षण जता हुन्छ त्यतै जानुपर्ने भयो, त्यसैले एमालेमा जान्छु ।’ एमाले जिल्ला अध्यक्ष र राजपा महामन्त्री राय व्यक्तिगत रुपमा पनि साथी हुन् । यो सम्बन्धले पनि काम गरेको उनले बताए । राय एमाले प्रवेश गर्ने भएपछि एमालेले चारओटै स्थानीय तहका आफ्ना उम्मेदवार फिर्ता गरेर रायका कार्यकर्तालाई टिकट दिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !